काठमाडौं, २ साउन | पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा एमाले सदस्यता नविकरणबारे उत्पन्न विवादबीच पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा सन्देश दिनुभएको छ ।
एमालेको पोलिटब्यूरो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने विश्वासका साथ दोस्रोपटक राष्ट्रपतिमा सिफारिस गरिएको स्पष्ट पार्नुभएको हो ।
“दोस्रोपटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो,” ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
ओलीले अझैसम्म विद्या भण्डारीको सदस्यता नविकरण नभएको पनि खुलासा गराउनु भएको छ । उहाले पूर्वराष्ट्रपतिका गतिविधिबारे आफूलाई पत्रिकाबाट जानकारी भएको भन्दै आश्चर्य समेत व्यक्त गर्नुभयो ।
बैठकमा ओलीले पार्टीभित्र बढ्दो अराजकता र आन्तरिक असन्तोषबारे पनि कडा भाषा प्रयोग गर्नुभएको छ ।
“पार्टीमाथि ठूलो र संगठित हमला भइरहेका बेला भित्रैबाट बबण्डर उठाउनु गम्भीर गल्ती हो। यस्तो कार्य तुरुन्त रोकिएन भने पार्टीले नै रोक्छ” उहाले चेतावनी दिनुभयो ।
उहाले विधान र प्रक्रिया बाहिर गएर बोलेर पार्टी कमजोर बनाउनेहरूलाई सचेत रहन आग्रह पनि गर्नु भएको छ । “विधानका बारेमा नानाथरी धारणा सार्वजनिक गर्नु उचित होइन, पार्टीभित्र छलफल हुनुपर्छ,” ओलीको भनाइ थियो।
एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको भूमिकामाथि बढ्दो बहसबीच आएको ओलीको यो अभिव्यक्ति पार्टीभित्र शक्ति सन्तुलनको लडाइँ चर्किंदै गएको संकेतका रूपमा लिइएको छ।
