दमक,३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ओली सरकारमा कसले कति कमाउने भनेर होडवाजी चलिरहेको दावी गर्नु भएको छ ।
ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरु एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिन थालेको घटनाप्रति इंगित गर्दै अध्यक्ष लिङ्देनले त्यस्तो दावी गर्न भएको छ । राप्रपा मेचीनगरको पाँचौ नगर अधिवेशनको उद्घाटन गर्दै लिङ्देनले सरकारले जनतालाई बिदेशमा बेचेर खाने, महङ्गी बढाएर खाने,शरणार्थी बनाएर बिदेशमा पठाएर खाने, भिजिट भिसामा पठाएर पनि खाने गरेको भन्दै जहाँ र जसरी भएपनि कमाउने प्रवृति हावी भएको दावी गर्नु भएको छ ।
राप्रपा एक मात्र पार्टी जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर भ्रष्टाचारविरुद्ध औंला उठाएको उहाँले बताउनु भएको छ । राप्रपाबाहेकका सबै पार्टी कुनै पनि फायल खोल्ने भनेपछि डरले काँप्ने गरेको उहाँको भनाई छ ।
मेचीनगर –१०, धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवनको सभाहलमा राप्रपा मेचीनगर नगर समितिको आयोजनामा सो अधिवेशन भएको हो । मेचीनगर नगर अध्यक्ष तथा कोशी प्रदेश सभा सदस्य सबिना बजगाईँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देन , केन्द्रीय सदस्य श्यामसुन्दर ओली,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतको उपस्थिति रहेको थियो ।
