दमक,३ साउन । नेकपा एमाले पोलिटब्युरो बैठकमा नेताहरुले ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको विषयमा आफ्ना धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय बाहेक ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण लगायतका विषयमा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार बैठक समापन गर्ने जानकारी दिनुभयो । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गर्नुभएको र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम भइरहेको उहाँको भनाइ छ ।
प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिनु भएको छ ।
