दमक, १३ साउन । हरियो सारी । आँखामा कालो चस्मा । अघी पछि नगर प्रहरी । साथमा स्वास्थ्य सम्बन्धीका जानकारहरुलाई फाईल बोकाएर दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई बजार अनुगमनमा निस्कनु भएको दृष्य हो यो ।
दमकका बजारलाई मानीय स्वास्थ्यसग खेलबाड गर्ने गरी व्यापार हुन नदिने भन्दै सुरुदेखीनै एक्सनमा उत्रनु भएकी उप प्रमुख रेगिना यो पटक दमकका मेडिकल, क्लिनीक तथा फार्मेेसी साथै केहि निजी अस्पतालको अनुगमनमा निस्कनु भएको हो ।
अन्गमनमा जाँदा उहाँले नगरपालिका भित्र सञ्चालनमा रहेका अधिकांश निजी मेडिकल, फार्मेसी, क्लिनिक तथा चस्मा घरहरु नियमन र कानुनी प्रक्रिया विना खुलेआम सञ्चालन भइरहेको पाउनु भयो ।
सबै निजी स्वास्थ्य संस्थाहरुलाई एक हप्ताभित्र दर्ता तथा नविकरणका लागि सम्पर्क गर्न निर्देशन दिएको छ । उक्त अवधिपछि पनि सुधार नभएमा कानुनी दायरामा ल्याइने उहाँको चेतावनी छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ब्रजेस कुमार मेहताका अनुसार, फार्मेसी तथा औषधी पसलहरुले दर्ता प्रक्रिया पुरा गरे पनि समयमै नविकरण नगर्ने प्रवृत्ति देखिएको छ भने केहीले त कुनै कागजातबिना नै व्यवसाय सञ्चालन गरिरहेका छन् । उहाँले नियमित स्वास्थ्य सेवा लिन जाने सर्वसाधारण यस्ता अनियमित संस्थाको मारमा परिरहेको बताउनुभयो ।
देशकै प्रतिष्ठित नगर र शहरका रुपमा अघि बढिरहेको दमक नगरपालिकामा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यति धेरै लापरवाही हुनु अत्यन्त गम्भीर विषय हो । यसले जनस्वास्थ्यलाई नै खतरा पुर्याउने खतरा रहेको हुँदा सम्बन्धित निकायले कडाइका साथ निगरानी र कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।









