कोशी प्रदेशको झापा जिल्ला दमक नगरपालिका वडा न. १ मा अवस्थित शुरुमा ईलाका स्वास्थ्य चौकी, प्रारम्भिक स्वास्थ्य चौकी हुँदै २०७३ साल वैशाख देखि १५ शैयाको दमक अस्पतालका रुपमा विस्तार र स्तरोन्नति भई दमक नगरपालिकाको व्यवस्थापन र संचालनमा ईलाम, पाँचथर, मोंरग र झापाका जनताको स्वास्थ्य सेवाको केन्द्रविन्दु बन्न पुगेकोे छ ।
दमक नगरपालिकाको व्यवस्थापनमा सञ्चालित यस अस्पतालले हरेक दिन सो क्षेत्रका सयौँ, हजारौँ बिरामीको उपचार गर्दै आइरहेको छ । विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकका लागि यो अस्पताल आशाको केन्द्र रहेको छ ।
यो अस्पताल विसं २०३२ सालमा ईलाका स्वास्थ्य चौकीको रुपमा स्थापना गरिएको थियो । पछि यसलाई २०७३ सालमा यसलाई १५ शैयाको दमक अस्पतालको रूपमा विस्तार र स्तरोन्नति गरिएको हो ।
नेपालमा स्वास्थ्य सेवाबाट अझै ठुलो वर्ग वञ्चित छ । ग्रामिण भेगका जनताका लागि सुविधा सम्पन्न निजी अस्पतालमा उपचार गराउनु सपना जस्तै हो । यस्तो अवस्थामा दमक अस्पताल जस्ता सरकारी स्वास्थ्य संस्थाहरूको भूमिका झनै महत्वपूर्ण हुन जान्छ । यहाँ आउने अधिकांश बिरामीहरू झापा दमकका मात्र नभई ईलाम, पाँचथर र मोंरग जिल्लाहरूबाट पनि आउने गर्छन् जसले यसको महत्व अझ बढाएको छ ।
दमक अस्पतालले चौबीसै घण्टा आपतकालीन आकस्मिक सेवा, ओपीडी, प्रयोगशाला, फार्मेसी, नाक–कान–घाँटी, छाला, हाड–जोर्नी, बालरोग, स्त्रीरोग, विभिन्न विशेषज्ञ सेवाहरू लगायतका सुविधा प्रदान गर्दै आएको छ ।
विपन्न वर्गका लागि यो अस्पताल सस्तो, सुलभ र भरपर्दो सेवा दिने संस्थाको रूपमा परिचित छ । यहाँ बिरामीहरू न्यूनतम शुल्कमा उपचार गर्न पाउँछन् । जुनसुकै वर्गका मानिसले उपचार पाउन सकुन् भन्ने उद्देश्यले सरकारले चलाइरहेको निःशुल्क औषधि वितरण कार्यक्रम र स्वास्थ्य बीमा योजनाको कार्यान्वयन दमक अस्पतालमा प्रभावकारी रूपमा लागु गरिएको देखिन्छ ।
यो अस्पतालले आफूलाई कोरोनाकालमा सक्षम, सबल र आवश्यक परेको बेला जस्तोसुकै उपचार सेवा दिन सक्ने अस्पतालका रूपमा स्थापित गरिसकेको छ ।
दमक अस्पतालका सेवाहरू उपयोगी र प्रभावकारी भए तापनि यो अस्पताललाई थुप्रै चुनौतीहरूको सामना गरिरहनु परेको पनि देखिन्छ । बिरामीको सङ्ख्या अत्यधिक हुँदा जनशक्ति, औषधि, उपकरण र बेडको अभाव प्रायः सधैँजसो देखिने चुनौती हो । अत्याधुनिक नयाँ र ठुलो भवनबाट सेवाहरू सञ्चालन गरिएपनि बेडको अभाव लगायतका अन्य समस्याहरू अझै पनि कायमै छन् ।
विशेषज्ञ डाक्टरको अभाव, कतिपय उपकरणको अभाव र भएका उपकरण पनि बिग्रनु तथा बिग्रिएपछि लामो समयसम्म मर्मत सम्भार नहुनु र धेरै पहिलेदेखि पर्याप्त विशेषज्ञ जनशक्ति नहुनुजस्ता समस्याले सेवा प्रभावित हुँदै आएको छ । विशेषगरी केही सेवाका लागि कतिपय विपन्न बिरामीहरूले लामो समय कुर्नुपर्ने बाध्यता अझैपनि जस्ताको तस्तै छ ।
सोही प्रकारले अस्पतालको सरसफाइ, ओपिडीको व्यवस्थापन र प्रशासनिक झन्झट पनि सुधार गर्नुपर्ने प्रमुख क्षेत्र हुन् । निजि अस्पतालमा विरामी जाँदा निकै सफा र व्यवस्थित देखिनु तर दमक अस्पतालमा पुग्दा सधैँ सरसफाइको समस्या तथा अव्यवस्थित देखिनुमा व्यवस्थापनको कमजोरी प्रष्ट झल्किन्छ । यसतर्फ तत्काल सुधारको आवश्यकता छ ।
करोडौँको लागतमा तयार भएका भवन, ल्याइएका उपकरण र अन्य पूर्वाधारको राम्रो रेखदेख तथा संरक्षण हुन नसक्नु पनि यो अस्पतालको ठुलो समस्या हो । यसतर्फ पनि अस्पताल व्यवस्थापनको ध्यान जानु आवश्यक छ ।
पुर्वी नेपालका लाखौँ जनताको आशा र भरोसाको केन्द्र रहेको यो अस्पतालमा अस्पतालका नर्स र स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, निःशुल्क औषधि र उपचार विपन्नले नै नपाउने जस्ता कुराहरु बेला बेलामा जनगुनासाहरू रुपमा सुनिने गरेका छन् । यस्ता गुनासाहरूको उपचार पनि अस्पताल प्रशासन र व्यवस्थापनले समयमै गर्नु अतिआवश्यक देखिन्छ ।
दमक अस्पतालका सेवाहरूलाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारले मिलेर थप लगानी गर्न आवश्यक छ । दक्ष जनशक्ति बढाउने, डिजिटल प्रणालीमार्फत सेवा प्रक्रिया अझ सहज बनाउने, विभिन्न औषधि र उपकरणको आपूर्ति नियमित बनाउने तथा बिरामी अनुगमन प्रणालीमा कडाइ गर्ने हो भने यो अस्पताल देशकै उत्कृष्ट सरकारी अस्पताल बन्ने देखिन्छ ।
साथै दैनिक रूपमा ८००–१००० बिरामीहरू ओपीडी सेवा तथा आपतकालीन सेवामा आवद्ध हुने हुँदा सेवा प्रवाहलाई राम्रो तथा गुणस्तरीय सँगै व्यवस्थित बनाउन अक्सिजन प्लान्ट, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इ.सी.जी., इन्डोस्कोपी जस्ता पुर्वाधारले मात्र प्रयाप्त नहुने हुँदा समयमा पुर्वाधार विकास र थप सेवा विस्तारका लागि थप स्तरोन्नतिका लागि क्रियाशिलता बढाउनुपर्ने देखिएको छ ।
साथै, नागरिकस्तर बाट पनि अस्पतालको निरन्तर निगरानी, सेवा मूल्यांकन र अनुगमन निरीक्षण आवश्यक देखिएको छ । दमक अस्पताल केवल एक स्वास्थ्य संस्था मात्र नभई लाखौँ विपन्न नेपालीको जीवन रक्षाको केन्द्र पनि हो । सस्तो, सुलभ र समावेशी सेवाले यो अस्पतालले विपन्न जनतालाई सहज उपचारको अवसर दिएको छ । यसको निरन्तर सुधार, विस्तार र पारदर्शितामा विशेष ध्यान दिनु आवश्यक छ ।









