दमक,|२७ असोज |गत भदौ २३ र २४ गतेको दुई दिनले नेपालको सामाजिक र राजनीतिक धरातल हल्लाइदियो। जेन जि आन्दोलनको उग्र रूपले देशैभर त्रास र अव्यवस्था फैलायो। विद्यार्थीको आन्दोलनबाट सुरु भएको विरोध आन्दोलन हिंसामा परिणत भयो। १९ विद्यार्थीको मृत्युपछि देशभर आक्रोशित जनसमुदाय सडकमा ओर्लियो, र त्यसको भोलिपल्ट सार्वजनिक सम्पत्ति, दलका कार्यालय, नेताहरुका घर र सरकारी संरचनामा आगजनी र तोडफोडले देशनै थर्थर काँपायो। राज्यका तथ्यांकअनुसार, देशभर ७७ नागरिकको ज्यान गयो र खरबौं मूल्य बराबरको भौतिक क्षति भयो।
दमक पनि अछुतो रहेन
कृषि र व्यापारिक केन्द्रको रूपमा चिनिने झापाको दमक पनि यस विध्वंसबाट अछुतो रहन सकेन। यहाँ नगरपालिकाको भवनदेखि लिएर नगर प्रमुख र उपप्रमुखको घरसम्म जले। तत्कालीन प्रधानमन्त्री बस्दै आएको घरमा समेत आगजनी भयो। प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, विभिन्न दलका पार्टी कार्यालय, र व्यावसायिक भवनहरूमा तोडफोड र लुटपाट भयो।
नयाँ बनेको भाटभटेनी सुपरमार्केट त क्षणभरमै खरानीमा परिणत भयो। क्षतिको विवरण अनुसार, दमकमा मात्रै करिब डेढ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ। यसमा दमक नगरपालिकामा २३ करोड, दमक बिजनेस कम्प्लेक्समा २२ करोड र भाटभटेनी सुपरमार्केटमा सामान र संरचना गरी करिब ८१ करोड ४ लाख बराबरको क्षति भएको आधिकारिक विवरणमा उल्लेख छ।
“यस पटक मानवीयता हरायो”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशका सचिवालय सदस्य अम्बिका खनालले भन्नुभयो “अघिल्ला कुनै पनि विद्रोह वा आन्दोलनमा दमकका नागरिकले प्रहरी कार्यालयदेखि सार्वजनिक सम्पत्तिसम्म जोगाएका थिए, तर यस पटक कोही बाहिर आएनन्।” उहाँका अनुसार, सार्वजानिक पदमा रहेका व्यक्तिहरूका गल्तीको सजाय सहरले भुक्तान गरिरहेको छ। “अब कसैले गल्ती गर्न नपाउने र सबै सुध्रिएर दमक पुनर्निर्माणतिर लाग्नुपर्छ,” खनालले दमक नगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा बताउनु भयो ।
“यो योजनाबद्ध विध्वंस थियो”
माओवादी केन्द्रका नेता र जेन जि आन्दोलनका पीडित समेत रहनु भएका रेवतराज पुरी (गगन) का अनुसार, यो आन्दोलन स्वस्फूर्त होइन, योजनाबद्ध थियो। “२३ गते विद्यार्थीको हत्या र त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत जानकारी नदिइएको घटना राज्य संयन्त्रकै भित्रबाट भएको संकेत हो,” उहाँले आरोप लगाउँदै भने, “यो देशनै डढाउने कुकर्म हो, यसको निष्पक्ष छानबिन हुनुपर्छ।” हैनभने अर्को विकल्पबाट भएपनि कार्वाहि गर्ने निर्णय सामाजीक रुपमा गरिन गर्छ । ’ उहाँको भनाई थियो । आफ्नो घर जलाउन पुगेका र त्यसमा संलग्नलाई आफुले निकटबाट हेरेको तर त्यसका विरुद्धमा प्रहरीकहाँ उजुरी गर्न जादा राज्य संयन्त्रबाट उजुरी नलिनु भनेर आदेश दिनुले यो घटना पूर्व तयारी र योजनावद्ध छ । गम्भिर छानविन हुन जरुरी छ । ’
“आन्दोलनमा समाजकै अगुवाहरू सक्रिय देखिन्थे”
नेपाली कांग्रेस दमकका सभापति प्रकाश प्रसाईले आन्दोलन अकल्पनीय भएको बताउनु भयो । उहाँका अनुसार, समाजका अगुवा र लब्धप्रतिष्ठित भनिएका व्यक्तिहरूले नै आन्दोलनकारीलाई ढुङ्गा ल्याएर दिने, उक्साउने र आक्रमणमा प्रोत्साहित गर्ने काम गरे। “जो आज नगरपालिकालाई जलाउँछन्, भोलि अरूलाई पनि जलाउँछन्। अब सबै संयमित भएर अघि बढ्नुपर्छ,” प्रसाईले भने।
“अहिले दोष होइन, उपाय खोज्ने समय”
नेपाल मानव अधिकार संगठनका केन्द्रीय उपाध्यक्ष डा. केपी सुवेदीले छलफलमा भन्नु भयो, “अहिले कसले के गर्यो भनेर दोष देखाउने होइन, अब के गर्ने र कसरी गर्ने भन्नेबारे एकमत हुन जरुरी छ।”
“यो तालीमप्राप्त आक्रमण थियो”
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले सबै क्षतिको स्वरूप हेर्दा यो योजनाबद्ध र तालीम प्राप्त आक्रमणजस्तै देखिएको बताउनु भयो । “जहाँ जहाँ क्षति भयो, त्यहाँ उस्तै ढाँचाको विध्वंस देखिन्छ। त्यसैले यो आकस्मिक होइन, निर्देशित आक्रमण हो,” उहाँले भन्नुभयो नगरपालिकामा बिभिन्न भिडियोहरु आएका छन् । सबैको छानविन त हुनै पर्छ । गल्ती गर्नेलाई कार्वाहि होस । यदी म र हामीले गरेका छौ भने पनि कानुनी रुपमा कार्वाहि भोग्न तयार छौ । तर गल्ती गर्नेलाई नछोडौ । उहाँको तर्क थयो ।
सामूहिक पुनर्निर्माणको आह्वान
सर्वदलीय छलफलमा सहभागी दलका प्रतिनिधि र समाजिक अगुवाहरूले “दमक पुनर्निर्माण अभियान”लाई साझा अभियानका रूपमा अघि बढाउने सहमति व्यक्त गरे।
देशका अन्य भागझैं, दमकले पनि यो आन्दोलनबाट ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक घाउ बेहोरेको छ। यस घाउको उपचार अव सबै दल तथा नागरीक अगुवाहरु मिलेर गर्न पर्छ । छलफलका क्रममा मानव अधिकार संगठनका कोशी प्रदेश सह संयोजक जय श्रेष्ठले जानकारी दिनुभयो ।
“दमक पुनर्निर्माणका लागि सबै हात मिलाउन जरुरी छ। गल्ती र प्रतिशोध होइन, समाधान र सहकार्य चाहिन्छ।” श्रेष्ठले बताउनु भयो ।









