पथरी, २३ कार्तिक / मोरङको उर्लाबारी कार्यक्षेत्र भएका प्रभावशाली सर्जक कृष्ण उदाशीको कविता संग्रह ‘पानीको पर्खाल’ को काठमाडौंमा विमोचनपछि उर्लाबारीमा गृह विमोचन हुने भएको छ ।
कार्तिक २२ गते सर्वनाम थिएटर काठमाडौंमो पुस्तकको विमोचन भएको थियो । अब कार्तिक २९ गते नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा राधिका मावि उर्लाबारी ६ मा विमोचन हुनेछ ।

काठमाडौंमा कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यताको विमोचन र अन्तरसंवाद कार्यक्रममा पुस्तकमाथि डा. अशोक थापा र डा. अम्बिका अर्यालले बोल्नु भएको थियो । महेशकाजी क्षितिजको सहजीकरणमा सम्पन्न कार्यक्रममा कृतिभित्रका कविता वाचन गरेर माहोललाई राधा कँडेल, महेश पौड्याल र चन्द्रवीर तुम्बोपोले थप काव्यिक बनाउनु भएको थियो ।
कार्यक्रममा हौसला प्रदान गर्ने लोकप्रिय संगीतकार तथा गायकहरू राजनराज शिवाकोटी र गौरव दर्पण, प्रा.डा. जनार्दन घिमिरे, प्रमिला घिमिरे, घनेन्द्र ओझा, उपन्यासकार श्याम सिङ्घक, जयराम तिम्सिना, कविहरु चन्द्रवीर तुम्बापो, विशाल नाल्बो, मिथोच, कुशलदेव घिमिरे, नवराज थापा, योगमाया दाहाल, शरद अधिकारी, काजी खरेल, टीका शिवाकोटी आदर्श, राजेश माङ्मु, रमेश शिवाकोटी, आशिका भण्डारी, मिलन विश्वकर्मा, धिरेन बोखिम, बिन्दा पौडेल, प्रसङ्ग गौतम लगायतको उपस्थिति रहेको थियो ।
‘पानीको पर्खाल’ लाई पेज टर्नर प्रालिले प्रकाशन गरेको छ ।
को हुन् उदाशी ?
जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदाशीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन छैन, अर्थात उहाँ असत्य, राजनीतिक वादको पक्षमा नलाग्ने हिसाबले ‘उदाशी’ उपनामले आफूलाई स्थापित बनाउनु भएको छ ।
भानुभक्त शिवाकोटी र जशोदा प्रसाई (शिवाकोटी) को साहिँलो सन्तानका रुपमा वि.सं. २०४१ माघ १८ साबिक फलैँचा–६, हाल याङ्वरक–२, तिम्तिम्बू, पाँचथरमा जन्मिनु भएका उहाँ झापाको दमक ४ सम्बन्ध टोलमा बसोबास गर्दै सृजनकर्ममा तल्लिन हुनुहुन्छ ।
२०५५ देखि साहित्य सिर्जना थाल्नु भएका उहाँ उपन्यास, गजल, गीत, कथा र कविता विधामा कमल चलाउँदै अनि सर्जकहरुको वायोग्राफी बनाएर प्रशारण गर्ने काममा पनि आफ्नो उस्तै सक्रियताको यात्रामा हुनुहुन्छ ।
उहाँको प्रकाशित पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । ६०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उहाँको कविता संग्रह ‘पानीको पर्खाल’ यो बेला प्रकाशनमा आयो ।
विभिन्न साहित्यिक पत्रिकाको सम्पादन तथा रेडियोमा गजलसहितका साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनु भयो । २०६३ मा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक उहाँ उर्लाबारी गजल मञ्चमा २०६१–२०६९ सम्म अध्यक्ष भएर गजलको प्रवद्र्धन र विस्तारमा लागिपर्नुभयो । उर्लाबारी क्याम्पस साहित्य मञ्चको पूर्व अध्यक्ष तथा नेपाली साहित्य समाज, उर्लाबारीको पूर्व महासचिव रहेर सृजना क्षेत्रमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन भ्याउनु भयो ।
दीपज्योति युवा कविता प्रतियोगिता २०६६, कारितास कविता प्रतियोगिता २०६८,साहित्य कला संगम, खुल्ला कविता प्रतियोगिता २०७१ मा प्रथम बनेसँगै अन्य दर्जन बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुँदै अहिले आफूलाई सृजना प्रवद्र्धनको अभियानमा सामेल गर्नुभएको छ ।
पछिल्लो समय उहाँ व्यवसायिक गीत लेखनमा तल्लिन बन्नु भएको छ । नेपाली चलचित्रका लागि समेत गरेर उहाँका हालसम्म ५ दर्जन गीत रेकर्ड भएका छन् । रेडियो नेपालले आयोजना गरेको ०८० सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायक गौरव दर्पणले गाएको ‘म घुम्टो उघार्छु’ बोलको गीतले प्रथम स्थान हाँसिल गरेको थियो । उज्यालो खबर र रेडियो किङ्ग एफएमको कार्यक्रम ‘अनुशीलन’ मा उहाँका सृजनायात्राका बारेमा गरिएको कुराकानी भिडिओमा हेरौं :









