बिर्तामोड,२९ कार्तिक । नेकपा (एमाले) झापाले शनिबार बिर्तामोडमा जिल्लास्तरीय शक्ति प्रदर्शनसहित जनजागरण सभा सम्पन्न गरेको छ। झापाका १५ वटै पालिकाका प्रतिनिधिमूलक हजारौं नेता–कार्यकर्ताको सहभागिता सहित एमालेले बिर्तामोडमा जनजागरण सभा गरेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको सभामा एमाले पार्टी सचिव पदमा अर्यालले मुख्य वक्ताका रूपमा सभालाई सम्बोधन गर्नुभएको हो ।
उहाँले संसद् पुनःस्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदमविरुद्ध दबाब सिर्जना गर्न पार्टीले देशभर जागरण सभा मार्फत अभियान सुरु गरेको बताउनुभयो। जेनजी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन दबाब दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उहाँले बताँउनु भयो ।
एमाले राष्ट्रवादी शक्ति भएकै कारण आज राष्ट्रहित विपरीतका शक्तिहरूको आक्रमणमा परेको दाबी गर्दै उहाँले फेरी पनि मुलुकको हितका लागि एमाले जागरुक रहेको र कार्यकर्ताहरू नडगमगाउन आग्रह गर्नु भएको छ। नेतृ अर्यालले जेनजी आन्दोलनका मागहरू एमालेको पनि माग भएको बताउँदै ती मागहरू उचित ढङ्गले सम्बोधन हुनुपर्ने धारणा राख्नुभएको छ ।
सभालाई युवा नेता तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) का पूर्वसचिव मानोज ताम्ली, केन्द्रीय समिति सदस्य तथा झापा जिल्ला इन्चार्ज रोम ओली र एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले सम्बोधन गर्नुभएको थियो।
एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले स्वागत गर्नुभएको सभाको सञ्चालन सचिव तुलसी कार्कीले गर्नुभएको हो ।
जागरणसभामा वडा, टोलदेखि पालिका स्तरसम्मका हजारौं कार्यकर्ताको उपस्थिति रहेको एमालेले बताएको छ। यसअघि सभामा करिब २० हजार नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थिति रहने अनुमान थियो ।









