दमक, १३ मंसिर | नेकपा एमालेको ११ औं महाधिवेशनको लागि दुईवटा प्यानलले उम्मेद्वारी घोषणा गरेपछि झापामा महाधिवेशन प्रतिनिधि छनोटमा सहमति हुन नसकी निर्वाचन नै हुने भएको छ ।
जम्मा ३८ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै चार गुणा अर्थात १४८ जनाले उम्मेद्वारी दिएपछि सर्वसम्मत हुन नसकेको हो । उम्मेद्वारी फिर्ता गर्न लगाएर सर्वसम्मत गराउन निर्वाचन समितिहरुले आज दिनभरि गरेको प्रयास सार्थक बन्न सकेन ।
खुल्लातर्फका केहीले उम्मेद्वारी फिर्ता लिएपनि सर्वसम्मत हुन नसकेकाले निर्वाचन प्रक्रियामै जानु पर्ने भएको एमाले झापाका कार्यालय सचिव छविलाल विस्वकर्माले जानकारी दिनुभयो ।
उहाले निर्वाचन मार्फतनै प्रतिनिधि चुनिएपनी सबैले अध्यक्षमा केपी ओलीलाईनै बिजयी गराई फर्कनेगरी एकमत रहेको दावी गर्नु भएको छ ।
उहाले भन्नुभयो ” केपी ओलीको विकल्पमा झापाका कोहिपनी प्रतिनिधि रहनुहुने छैन । अहिलेको कठिन परिस्थितिलाई ओलीले नै निकास निकाल्नुहुने विस्वासमा झापाको एक मत छ ”
झापामा खुल्लातर्फ ८३ , महिलातर्फ ३० , युवातर्फ २८ र दलिततर्फ ७ जना उम्मेद्वार बनेका हुन् । निर्वाचन क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा ६ जनाको लागि १३ , क्षेत्र नं २ मा ९ जनाका लागि ४८ , क्षेत्र नं ३ मा ६ जनाको लागि २५ , क्षेत्र नं ४ मा ७ जनाको लागि १६ , क्षेत्र नं ५ मा ८ जनाको लागि ३९ र दलित क्लस्टरमा २ जना महाधिवेशन प्रतिनिधिका लागि ७ जनाको उम्मेद्वारी परेको हो ।









