बाहुनडाँगी,२९ मंसिर । ठुलो शुड । भीमकाय शरिर । नेपाली गाउँका घर भन्दा पनि अग्लो कद । प्रत्यक्ष देख्दा सबैको आङ सिरिङ्ग हुन्छ । शुडले भेट्यो वा पैतालाले कुल्च्यो भने मात्रै पनि मान्छेको सास नरहन सक्छ ।
हात्तीका कारण झापामा मात्रै सयौको ज्यान गएको छ । हजारौ घाईते भएका छन् । हात्तीका कारण हजारौ किसानले आफ्नो बालीको क्षती बिहोर्नु परेको छ भने कयौको घर भत्काएर उठीबासनै लगाइदिएको छ । यी हुन हात्तीले दिएको पीडा । कष्ट र समस्या । तर पनि यसरी मानव जाती र मानव निर्मित बाली तथा संरचनामा क्षती पुर्याउने हात्तीको संरक्षण गर्न भन्दै झापामा अभियान चलाइएको छ ।
समस्या र सास्ती मात्रै दिने हात्तीको संरक्षण किन गर्ने ? यसको संरक्षणबाट आम मानीसलाई के फाईदा हुन्छ वा प्राकृतिक सन्तुलनकालागी मानवले जोखिम मोलेरै भएपनि हात्ती जोगाइदिने पर्ने हो ? यो प्रश्न सामान्य नागरिकको मनमा उब्जन सक्छ ।
झापाको मेचिनगर नगरपालिका वार्ड ४ बाहुनडाँगी भन्ने बित्तिकै सबैको मन मस्तिकमा यो हात्तीबाट सबैभन्दा प्रताडीत क्षेत्र हो भन्ने पर्न सक्छ । तर अचम्म के भने अहिले यही क्षेत्रका नागरीक त्यही पीडा दिने जीवको संरक्षण गर्न अभियाननै चलाइरहेका छन् । हात्ती संरक्षण गर्नु अघी हात्तीले कस्तो बेलामा मान्छेलाई आक्रमण गर्छ भन्ने कुरा थाह पाउनु पर्ने बताउनु हुन्छ यही ठाउँमा हात्तीबाट मानव बस्तिको संरक्षण र हात्तीनै जोगाउनु पर्छ भन्ने अभियान र्यापिड रेस्पोन्स टिमका उपाध्यक्ष शंकर क्षेत्री लुईटेल ।
उहाँका अनुसार हात्तीलाई मान्छेले देख्ने बित्तिकै हात्ती प्रति कस्तो व्यवहार गर्छन भन्ने कुरा ध्यान दिने र मान्छेबाट यदी उ असुरक्षीत महसुस गर्यो भने मात्रै आक्रमण गर्छ । अन्यथा उ भोकाएर वा आफ्नो साथी वा सन्तानको खोजीमा हिडिरहेको बेला कसैले अवरोध गर्यो भने हात्तीले आक्रमण गर्छ । भारतबाट आउने हात्तीलाई नाकामै रोक्न र संरक्षण गर्न मेची नदिको किनारमा सोलार फेन्सिङ लगाइएको छ । साथै भारतकै छिमेकी गाउँका नागरिकसग समन्वय गरेर मेचीबाट पूर्व लागेको सुचना आउने र त्यो सुचनालाई एस एमस वा अन्य बिभिन्न सन्देश मार्फत प्रभावीत गाउँमा पठाएर हात्तीबाट मानवीय तथा अन्य क्षतीको संरक्षण गर्ने काम भइरहेको उहाँले बताउनु भयो ।
साथै हात्तीलाई हिड्ने बाटो तर्फ लगाएर हात्ती मार्ग देखाइदिने र त्यहाँ उसकालागी आवश्यकीय कुराहरुको प्रबन्ध गर्ने काम समेत मिलाउँदै गरिएको स्थानीय जनप्रतिनिधीको भनाई छ । वार्ड नं ४ का वार्ड अध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको संरक्षण गर्न अथवा नेपाल छिर्नै नदिन अहिले गरिएको सोलार फेन्सिङ प्रभावकारी भएको छैन । अहिले त्यो तोडेर पनि हात्ती बस्ति पस्ने गरेका छन् । तर यसको स्थाई समाधानकालागी बाहुनडाँगीको प्रयासले मात्रै सम्भव नहुने र यसलाई काठमाडौ दिल्लीको वार्ता मार्फत दुई देशमा बलियो वाल लगाएर भारतका हात्तीलाई भारतमै बस्ने गरीको प्रबन्ध गराउन पहल गरिन पर्ने उहाँको भनाई छ ।
प्राकृतिक वासस्थान मासिन थालेपछि मानव बस्तीमा पसेर हात्तीले वितण्डा मच्चाउने र जनधनको क्षति हुने गरेको छ। पछिल्लो पच्चीस वर्षमा करिब साढे तीन सयजनाको मृत्यु हात्तीको आक्रमणबाट भएको तथ्यांकले देखाउँछ। हात्तीले खेत बाली, फलफूल र भण्डारण गरेको अन्न क्षति गरिदिने, घरगोठ लगायत भौतिक सम्पत्तिसँगै मानवीय क्षति समेत गरिदिने हात्तीले मान्छेमा भय, त्रास, निराशा र असुरक्षाको अवस्था पैदा गरिदिएको मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च झापाका अध्यक्ष हरी प्रसाद उप्रेतीको भनाई छ। त्यसो त मानवीय गतिविधिले अन्य जनावरजस्तै हात्ती पनि सिकार बन्दै आएको छ। २५ वर्षमा मान्छेले आक्रमण गर्दा र करेन्ट लागेर ५५ वटा हात्ती मरेका पाइएको छ।
जङ्गलमा बस्ने जनावरलाई जङ्गलमै राखेर मानव बस्तीमा पस्न नदिन सरकारले पर्यावरणमा हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्ने वन्य जन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको सस्था राष्ट्रिय प्रकृती संरक्षण विकास कोष, कोशी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमकको भनाई छ ।
पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिने गरेका छन् । जसकालागी हात्तीलाई नेपालको कानुनले संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत गरेको पनि छ । तर वासस्थानको विनाश तथा खण्डीकरण, जैविक मार्गमा अवरोध, जंगलमा आहाराको कमी, बढ्दो चोरी सिकारी, मानव–वन्यजन्तु द्वन्द्वलगायतका कारण हात्ती संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।









