काठमाण्डौँ,९ पुस। केही दिनदेखि तराई क्षेत्रका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न निर्देशन दिएको छ।
विशेष गरी गरिब र विपन्न वर्ग शीतलहरबाट बढी प्रभावित हुने भएकाले प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ समेत कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आ–आफ्नो जिम्मेवारी अनुसारका कार्य अघि बढाउन आग्रह गरेको हो। स्थानीय तहले वडा कार्यालय र समुदायमा आधारित संस्थाहरूसँग समन्वय गरी प्रतिकार्यका क्रियाकलापहरू तत्काल सुरु गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शीतलहरको असर कम गर्न प्राधिकरणले ६ वटा विशेष निर्देशनहरू जारी गरेको छ। जसअनुसार संकटासन्न परिवारलाई न्यानो लुगा र तातो बनाउने उपकरणहरू वितरणको व्यवस्था मिलाउन भनिएको छ। यस्तै, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा आवश्यक कदम चाल्न र स्थानीय तहको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनाएको छ।
जोखिममा रहेका व्यक्तिहरूका लागि सार्वजनिक भवन, मठमन्दिर वा सामुदायिक घरहरूमा न्यानो गरी बस्ने प्रबन्ध मिलाउन प्राधिकरणको आग्रह रहेको छ। इन्धन वा अन्य विकल्प नभएका ठाउँमा डिभिजन वन कार्यालय र सामुदायिक वनसँगको समन्वयमा दाउरा उपलब्ध गराउनुका साथै सञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीहरू समुदायसम्म पु¥याउन प्राधिकरणले सूचित गरेको जनाएको छ।
पछिल्लो समय तराई र भित्री मधेसका जिल्लाहरूमा चिसोका कारण जनजीवन प्रभावित भइरहेको छ। बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायातमा समेत अवरोध पुग्ने देखिएकाले यात्रु र चालकहरूलाई समेत विशेष सावधानी अपनाउन आग्रह गरिएको हो। यदि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको स्रोतले मात्र संकट व्यवस्थापन सम्भव नभएमा प्रदेश र संघ सरकारसँग सहयोग माग्न समेत प्राधिकरणले बाटो खुला गरेको जनाएको छ।









