काठमाडौँ,२१ पुस । नेपालका ६ कम्युनिस्ट पार्टीहरूसँग आबद्ध किसान सङ्गठनहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको ‘अपहरण’ भएको भन्दै त्यसको कडा निन्दा गरेका छन्। सोमबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै ती संगठनले अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै भेनेजुएलाको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप लगाएको छन् ।
वक्तव्यमा यो घटनालाई स्वतन्त्र राष्ट्र र सार्वभौम जनताविरुद्ध गरिएको अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन भनिएको हो। सङ्गठनहरूले यसलाई अमेरिकी साम्राज्यवादले स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रभुत्वमा झुकाउने, प्राकृतिक स्रोत लुट्ने र समाजवादी क्रान्तिलाई ध्वस्त पार्ने दीर्घकालीन षड्यन्त्रको निरन्तरताका रूपमा व्याख्या गरेका हुन्।
निर्वाचन र लोकतान्त्रिक माध्यमबाट पराजित गर्न असफल भएपछि पश्चिमा शक्तिले नाकाबन्दी, राजनीतिक हिंसा र भाडाका सैनिक प्रयोग गर्दै आएको र अहिले अपहरणजस्तो फासिवादी आतंक अपनाएको उनीहरूको ठहर रहेको छ।
किसान सङ्गठनहरूले राष्ट्रपति मादुरोलाई तुरुन्त र बिना सर्त रिहा गर्न माग गरेका छन्। साथै, भेनेजुएलाको सार्वभौमसत्ताको सम्मान गर्दै त्यहाँ भइरहेका सम्पूर्ण सैन्य, राजनीतिक र आर्थिक आक्रमण अन्त्य गर्नुपर्ने उनीहरूको माग रहेको छ। भेनेजुएली जनतामाथि थोपरिएका एकपक्षीय दमनकारी प्रतिबन्ध र नाकाबन्दी खारेज गर्न तथा यस अपराधका योजनाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा जवाफदेही बनाउन समेत विज्ञप्तिमा आग्रह गरिएको हो।
विश्वभरका क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरूलाई संयुक्त संघर्षमा उत्रिन आह्वान गर्दै सङ्गठनहरूले नेपाली किसानहरू भेनेजुएलाका श्रमिक र किसानको पक्षमा उभिएको बताएका छन्।
संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले हस्ताक्षर गरेका हुन्।










