इटहरी,१९ कार्तीक । चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित त कोही टाढाटाढाबाट मनपर्ने ब्यान्डको प्रस्तुति हेर्ने उत्साह बोकेर। चिसो सिरेटोबीच रंगशालामा जम्मा भएको भीडको प्रतीक्षा एउटै थियो– नेपथ्यलाई प्रत्यक्ष हेर्ने र अमृत गुरुङका गीतमा रमाउने ।जब स्टेजमा नेपथ्यको आगमन भयो, चिसो मौसम एकाएक उत्साहको तापमा बदलियो। दर्शकको हुटिङ, ताली र चिच्याहटले रंगशाला गुञ्जायमान बन्यो। मञ्चबाट निस्किएको प्रकाशको झिल्को, धुवाँको मुस्लो र आकाशतिर सोझिएका शक्तिशाली प्रकाशपुञ्जले वातावरणलाई झनै रोमाञ्चक बनाइरहेका थिए । हजारौँ मोबाइलका बत्ती एकैसाथ बल्दा रंगशाला कुनै तारामय आकाशभन्दा कम देखिँदैनथ्यो ।
बालकदेखि वृद्धसम्म, किशोरकिशोरीदेखि युवायुवतीसम्म सबैको अनुहारमा एउटै खुसी थियो। कोही गीतसँगै स्वर मिलाइरहेका थिए, कोही हात उठाएर नाचिरहेका थिए त कोही मोबाइलमा त्यो अविस्मरणीय क्षण कैद गर्न व्यस्त थिए । दर्शकदीर्घामा उमेरको कुनै सीमा थिएन, उत्साहको कुनै कमी थिएन । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा बुधबार साँझ करिब १० हजार दर्शक यसरी नै झुमे ।इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ एउटा सांगीतिक कार्यक्रम मात्र रहेन, पूर्वी नेपालको सांगीतिक उत्साह र दर्शकको अपार आकर्षण प्रदर्शन गर्ने जमघटसमेत बन्यो ।आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार कन्सर्टका लागि ८ हजार ५ सय टिकट बिक्री भएको थियो भने थप १ हजार ५ सय पास वितरण गरिएको थियो । टिकट र पासमार्फत करिब १० हजार दर्शकले नेपथ्यको प्रस्तुति प्रत्यक्ष हेरे । टिकट बिक्री भइसकेपछि पनि कन्सर्ट हेर्ने आशामा रंगशाला पुगेका कतिपय तन्नेरी निराश हुँदै फर्किनुपरेको थियो। भित्र भने दर्शकको भीडले मैदान भरिएको थियो ।
साँझ करिब ६ बजे स्टेजमा उक्लिएका नेपथ्यका मुख्य गायक अमृत गुरुङले ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गर्नु भयो। त्यसपछि सुरु भएको सांगीतिक यात्राले तीन घण्टासम्म दर्शकलाई लगातार बाँधिरह्यो ।‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु भएसँगै मञ्चमा धुवाँ फैलियो। रङ्गीबिरङ्गी प्रकाश घुम्न थाले, आकाशमा पताका उड्न थाले र दर्शकको आवाज झन् चर्कियो । त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’, ‘रुकुम’ लगायतका गीतले माहोललाई थप उचाइमा पुर्याए ।नेपथ्यका गीतसँग दर्शकको सम्बन्ध मनोरञ्जनमा मात्र सीमित थिएन । धेरैका लागि ती गीत सम्झनाका हिस्सा थिए, कसैका लागि जीवनका अनुभूति त कसैका लागि देश र माटोसँग जोडिने माध्यम। पुराना लोकप्रिय गीत बज्दा वृद्धवृद्धासमेत गीतसँगै गुनगुनाइरहेका देखिन्थे भने नयाँ पुस्ता मोबाइलमा भिडियो खिच्दै र हात हल्लाउँदै रमाइरहेको थियो ।कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ ले दर्शकलाई फेरि एकपटक उफा¥यो। अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गर्दै नेपथ्यले तीन घण्टे सांगीतिक यात्राको बिट मा¥यो ।
गीतसँगै सन्देश : युवालाई अमृतको आग्रह
अमृत गुरुङको प्रस्तुति गीत गाउने र दर्शक नचाउनेमा मात्रै सीमित रहेन । उहाँ गीतका बीच–बीचमा दर्शकसँग संवाद गर्नु हुन्थ्यो र जीवनोपयोगी सन्देश पनि बाँडनु हुन्थ्यो। विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले जीवनलाई धुवाँमा नउडाउन, गरिब तथा दुःखीलाई सकेको सहयोग गर्न र देश घुमेर आफ्नो माटोलाई चिन्न आग्रह गर्नु भयो ।‘देश हामीले नै बनाउनुपर्छ’ भन्ने उहाँको आग्रहले दर्शकको ध्यान संगीतबाट केही क्षण जीवन र समाजतर्फ पनि तान्यो ।
उहाँले नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम राख्न र हिमाल, पहाड तथा तराईलाई भावनात्मक रूपमा जोड्नुपर्ने सन्देश दिनु भयो । देश निर्माणको जिम्मेवारी राजनीतिक दल, कर्मचारी, समाजका अगुवा र नीति निर्मातासहित सबैको भएको उहाँको भनाइ थियो । परोपकारको प्रसंगमा उहाँले छरछिमेकमा शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पु¥याउन सक्नु ठूलो पुण्य हुने भाव व्यक्त गर्नु भयो । जीवनलाई सकारात्मक काममा लगाउन र अरूको दुःखमा साथ दिन उहाँले दर्शकलाई प्रेरित गर्नु भयो ।
एउटा कलाकारको आग्रह सुन्न हजारौँ मानिस एकै ठाउँमा जम्मा हुनु आफैँमा अर्थपूर्ण दृश्य हो । विशेषगरी युवापुस्ताले आफ्ना प्रिय गायकबाट पाउने यस्ता सन्देशले मनोरञ्जनसँगै सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना जगाउन सक्छन् ।अभिभावक र शिक्षकले बारम्बार सम्झाउँदा पनि बेवास्ता गर्ने कतिपय युवाका लागि प्रिय कलाकारको आवाज प्रेरणाको माध्यम बन्न सक्छ ।
पुस्ता जोड्ने संगीतको शक्ति
कन्सर्टमा युवायुवतीको बाहुल्य देखिए पनि अन्य उमेर समूहका दर्शकको उपस्थिति पनि उत्तिकै उल्लेखनीय थियो। नेपथ्यका गीतले पुस्ताबीचको दूरी मेटाएको दृश्य रंगशालामा प्रस्ट देखिन्थ्यो। पुराना पुस्ता आफ्ना सम्झनाका गीतमा रमाइरहेका थिए भने नयाँ पुस्ता त्यही संगीतमा आफ्नै उमंग खोजिरहेको थियो ।इटहरी मात्र होइन, सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम लगायत पूर्वी नेपालका विभिन्न क्षेत्रबाट दर्शक आएका थिए । भारतको सिक्किम र दार्जिलिङबाट समेत नेपाली संगीतका पारखीहरू सहभागी भएको आयोजकले जनाएको छ । यसले नेपथ्यको लोकप्रियता भौगोलिक सीमाभन्दा बाहिरसम्म फैलिएको देखाएको छ ।
मञ्चमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनु भएको थियो। वाद्यवादनको सशक्त संयोजन, प्रकाशको आकर्षक व्यवस्थापन र दर्शकको उत्साहले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।इटहरीमा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति थियो। करिब १० हजार दर्शकको सहभागिताले इटहरीमा ठूलो स्तरका सांगीतिक कार्यक्रमप्रति दर्शकको आकर्षण र बजार सम्भावनालाई उजागर गरेको छ।
कार्यक्रम पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा, इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेश सरकारको प्रवद्र्धनमा सम्पन्न भएको हो । आयोजकले कन्सर्टलाई मनोरञ्जनसँगै इटहरीको सांगीतिक तथा सांस्कृतिक पहिचान विस्तार गर्ने अवसरका रूपमा लिएको थियो ।यस्ता कार्यक्रमले स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउन सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
बुधबार राति इटहरी रंगशालामा देखिएको दृश्य एउटा सांगीतिक कार्यक्रमको सफलतामा मात्रै सीमित थिएन । त्यो नेपाली संगीतप्रतिको मोह, पुस्ताबीचको आत्मीयता, सामूहिक उत्साह र आफ्नो माटोसँग जोडिने भावनाको उत्सव पनि थियो ।तीन घण्टासम्म गीत गुञ्जिए, हजारौँ पाइला एकै लयमा चले, हजारौँ हात एकैसाथ उठे । अन्तिम गीत सकिएर मञ्चका बत्ती निभे पनि दर्शकका अनुहारमा देखिएको खुसी र कानमा गुञ्जिरहेका नेपथ्यका धुन लामो समयसम्म मेटिनेवाला थिएनन् ।चिसो इटहरीको त्यो रात संगीतले न्यानो बनाएको थियो । नेपथ्यले गीत मात्रै सुनाएन, हजारौँ मनलाई एउटै लयमा जोडेर फर्कियो ।










