दमक, २७ पुस । मानव उद्धार सेवा (मनपा वितरण गर्ने) संस्थाले आफ्नो केन्द्रीय कार्यालय भक्तपुरको निर्णयअनुसार सेवा केन्द्रका रूपमा सञ्चालन हुँदै आएका स्थानीय समिति भंग गरेको छ। संस्थाको गत भदौ २९ गते सम्पन्न वार्षिक साधारण सभापछि बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार सेवा केन्द्रमा कार्यरत स्थानीय समिति संरचना खारेज गरिएको हो।
संस्थाले दमक नगरपालिका र गौरादह नगरपालिकासँग सहकार्य गर्दै सडकमा आश्रित, अशक्त, असहाय, मानसिक तथा शारीरिक रूपमा कमजोर नागरिकहरूको उद्धार, उपचार, खाना, लत्ताकपडा र पारिवारिक पुनर्मिलन जस्ता मानवीय सेवा दिँदै आएको जनाएको छ।
नयाँ निर्णयअनुसार अब स्थानीय समितिमार्फत होइन, सेवा केन्द्रमा कार्यरत सम्पूर्ण सेवाकर्मी केन्द्रीय कार्यालयको प्रत्यक्ष मातहतमा रही सेवा सञ्चालन हुने संस्थाले स्पष्ट पारेको छ। सेवा केन्द्रमा रहेका सम्पूर्ण चल–अचल सम्पत्ति र आर्थिक कारोबार पनि केन्द्रीय कार्यालयकै निगरानीमा रहने जनाइएको छ।
संस्थाले सेवा सञ्चालनलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सहकारी, गैरसरकारी संस्था, सामाजिक संघसंस्था, स्वास्थ्य संस्था, जनप्रतिनिधि, प्रहरी र प्रशासनसँग नियमित समन्वय तथा परामर्श गर्दै आएको उल्लेख गरेको छ। संस्थाका सचिव योगेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मानव सेवा कार्यलाई निरन्तरता दिँदै आवश्यक निर्णयहरू सञ्चालक समितिबाट समयसमयमा गरिँदै जाने उल्लेख गरिएको छ ।
यो सगै गत शुक्रबार मात्र दमकमा मानव उद्दार सेवाको दमक समितिले गरेको पदभार ग्रहण बिधिवत अबैध भएको छ । रेवत चन्द्र भन्डारीको अध्यक्षतामा बनेको समितिले शुक्रबार दमक ६ स्थित सुर्य दर्शन बचत तथा ऋृण सहकारी सस्थाको सभाहलमा पदभार ग्रहण गरेको थियो ।









