सुनसरी,१ माघ। सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा बिहीबार बिहान ट्रक पल्टिँदा पाँच जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँचै जना कामदारको मार्बलले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । उनीहरू सबै एकै गाउँका बासिन्दा हुन् ।
ट्रकको अगाडि भागमा बसेका अन्य पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन् । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रक चालक भने फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।









