दमक, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओली आज बिहान भद्रपुर हुँदै दमक आउनुहुदैछ ।
बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेर कार्यकर्ताको स्वागत र्यालीसहित आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रिय सदस्य होम बहादुर थापाले जानकारी दिनुभयो ।
स्वागत र्याली सहित ओलीलाई कार्यकर्ताले निर्वाचन क्षेत्रमा लग्ने कार्यक्रम रहेको छ। भोलि ५ वटा निर्वाचन क्षेत्र हेर्दै क्षेत्र नम्बर ५ स्थित दमक जाने रुट बनाइएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए।यो रुट अन्तरगत भद्रपुरबाट चारआली, बिर्तामोड, कन्काई, शिवसत्ताक्षी, कमल हुँदै दमक पुग्ने रहेको छ।
कमल गाउँपालिका र दमक नगरपालिका क्षेत्र नम्बर ५ मा नै पर्छन्। आज आचारसंहिता लाग्ने भएका कारण कुनै भाषण गर्ने कार्यक्रम भने नरहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
उहाँले भोलिदेखि केही दिन निर्वाचन क्षेत्रमा नै बिताउने कार्यक्रम रहेको छ अघिल्लो वर्षको राजनीतिक आन्दोलन (जेन्जी मुभमेन्ट) का क्रममा दमकस्थित ओली बस्दै आएको आवासमा क्षति पुगेपछि यस पटक चुनावी गतिविधिका लागि आवास व्यवस्थापन गर्न पार्टीले विभिन्न घरहरू खोजी गरिरहेको छ।
आज झापा आउने ओली सोमबार नै होटलमा बस्ने व्यवस्था मिलाइएको एमाले झापाले जनाएको छ। जेनजी आन्दोलनपछि ओली पहिलो पटक झापा आउन लाग्नु भएको हो ।
पुस २१ गते उनको स्थानहद फुकुवा भएको थियो। माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गर्ने र त्यसपछि मात्र चुनावी रणनीतिक योजनाहरू निर्माण गरिने एमाले झापाले जनाएको छ।









