झापा,५ माघ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको बताउनु भएको छ। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नसकेको आरोप लगाउनु भएको छ।
समाजमा अझै पनि आपराधिक घटनाहरू भइरहेकाले सुरक्षा व्यवस्था कमजोर रहेको उहाँको दाबी छ। निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था आएको भन्दै उहाँले निर्वाचन निष्पक्ष र भयरहित हुनेमा आशंका व्यक्त गर्नु भएको छ ।जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाए पनि एमाले चुनावबाट पछि नहट्ने ओलीले स्पष्ट पार्नु भएको छ।
‘सुरक्षा प्रबन्ध अझै राम्रो हुन सकेको छैन, निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था छ,’ ओलीले भन्नु भयो, ‘तर जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ। त्यसमा कुनै समस्या छैन।’ झापा–५ लाई ‘इपिसेन्टर’ भन्नु वाइयात आफ्नो निर्वाचन क्षेत्र झापा–५ यसपटकको चुनावको केन्द्रविन्दु (इपिसेन्टर) बनेको भन्ने चर्चालाई ओलीले ठाडै अस्वीकार गर्नु भएको छ। सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले भन्नु भयो, ‘के को इपिसेन्टर हुन्छ? वाइयात कुरा।’









