दमक,२१ माघ ।झापाको दमक नगरपालिका–१ बरगाछी स्थित भित्री सडक खण्डमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट रामचोक तर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारी तर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राईको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारकै क्रममा अपरान्ह ३ बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थियो ।
प्रहरीले टिपर चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक दुवैको शव हाल दमक अस्पतालमै राखिएको प्रहरीले बताएको छ ।









