दमक,२५ माघ । दमक–२ स्थित सनराइज मोडल बोर्डिङ स्कुलमा शनिबार युनेस्को सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपाल युनेस्को महासंघको आयोजना र केविएस युनेस्को केन्द्रको समन्वयमा आयोजित तालिमको उद्घाटन प्रमुख अतिथि देवीप्रसाद मैनालीले गर्नुभएको हो। कार्यक्रममा केविएस युनेस्को केन्द्रका अध्यक्ष तथा नेपाल युनेस्को महासंघका सचिव रामनाथ मैनाली सभापति रहनु भएको थियो।
तालिममा नेपाल युनेस्को आयोगका सहायक महासचिव रामेश्वर प्रसाद यादव र नेपाल युनेस्को महासंघका महासचिव युवराज न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रम सनराइज मोडल बोर्डिङ स्कुलको प्रिन्सिपल नवराज भुर्तेलले सञ्चालन गर्नुभयो। तालिमको क्रममा सहायक महासचिव रामेश्वरप्रसाद यादवले युनेस्कोको परिचय, लक्ष्य, हालसम्मको प्रगति र यसको महत्वबारे प्रशिक्षण दिनुभयो। महासचिव युवराज न्यौपानेले गुणस्तरीय शिक्षा, युनेस्को दिवसहरू, शान्ति, सद्भाव र दिगो विकास लक्ष्यका विषयमा आफ्ना धारणा राख्नुभयो। यस्तै सभापति रामनाथ मैनालीले कोशी प्रदेशका सांस्कृतिक सम्पदाको अवस्था, संरक्षण र पहिचानबारे जानकारी गराउनुभयो। तालिममा ४० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै वातावरणलाई थप जीवन्त बनाएका थिए। तालिमबाट शिक्षकहरूले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।
सनराइज मोडल स्कुलमा भएको युनेसको र्कयक्रमबाट धेरै कुरा शिक्षकले सिक्नु पर्ने रहेछ भन्ने महसुस गरेको बताँउनु हुन्छ, शिक्षीका बन्दना भट्टराई ।
युनेस्को कार्यक्रममार्फत नेतृत्व सीप विकास, युनेस्कोसम्बन्धी काम गर्ने तरिका र सामाजिक जिम्मेवारीबारे शिक्षकलाई सक्षम बनाउने उद्देश्य रहेको आयोजकको भनाइ छ। यसअघि तनहुँ र धादिङमा यस्ता कार्यक्रम सम्पन्न भइसकेको र झापामा पहिलो पटक शिक्षकलाई लक्षित गरी तालिम आयोजना गरिएको केविएस युनेस्को केन्द्रका अध्यक्ष रामनाथ मैनालीले बताउनुभयो।
युनेस्को र्कायक्रमले समाजमा जनचेतना फैलाउने, सद्भाव र शान्तिको विकास गर्ने तथा बालबालिका, महिला र युवाको क्षमता अभिवृद्धिमा निरन्तर काम गरिरहेको नेपाल युनेस्को महासंघका महासचिव युवराज न्यौपानेको भनाइ छ।
बाइट… युवराज न्यौपाने, महासचिव, नेपाल युनेस्को महासंघ
सनराइज मोडल बोर्डिङ स्कुलले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी जीवन उपयोगी सीप र समग्र विकासमा जोड दिँदै आएको विद्यालयका प्रिन्सिपल नवराज भुर्तेलले बताउनुभयो। युनेस्को यस्तो तालिमले शिक्षकको शैक्षिक क्षमतामा थप ऊर्जा भर्ने उहाँको विश्वास छ।
आयोजकका अनुसार यो तालिमको मुख्य उद्देश्य शिक्षक–शिक्षिकामा युनेस्कोको मूल्य, गुणस्तरीय शिक्षा, सांस्कृतिक सम्पदा संरक्षण र दिगो विकासप्रतिको सोचमा सकारात्मक परिवर्तन ल्याउनु हो। शिक्षक मार्फत विद्यार्थी र समाजमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। यसै अभियानअन्तर्गत आइतबार २५ गते आश्विन मेमोरियलमा “मूर्त–अमूर्त सांस्कृतिक सम्पदा, संरक्षण र विकास” विषयमा एकदिने तालिम आयोजना हुने जानकारी पनि आयोजकले दिएको छ।









