दमक, २७ माघ, २०८२। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापाको दमक स्थित आम्दा अस्पतालको अवलोकन गर्नु भएको छ । त्यस क्रममा उहाँले अस्पतालले प्रदान गरि रहेको सेवा, भोग्नु परेको समस्या र समाधानका विकल्पहरु बारे छलफल समेत गर्नु भयो । अस्पतालको अवलोकनका लागि पुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डा. शिखर कट्टेलले त्यहाँ भई रहेको पूर्वाधार विकास तथा सेवा प्रवाहका बारेमा जानकारी दिनु भएको थियो ।
उहाँका अनुसार हाल अस्पताल परिसरमा ३ करोड रुपैयाँको लागतमा आईसीयु तथा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको छ । आम्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न तथा सेवा एवम् पूर्वाधार विकासमा ओलीको महत्वपूर्ण योगदान रहेको कट्टेलले बताउनुभयो ।
सामुदायीक अस्पतालको रुपमा सेवा प्रवाह गरि रहेको आम्दा अस्पताल दमकले पूर्वी नेपालका विभिन्न जिल्लाका बासिन्दाहरुलाई सेवा प्रवाह गर्दै आएको अस्पतालका पूर्व मेसु डा. नविन ढकालले बताउनुभयो । अवलोकनका क्रममा ओलीले नागरिकलाई सरल र सहज ढंगबाट स्वास्थ्य सेवा उपलव्ध गराउन आम्दाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
अस्पतालको अवलोकन पश्चात ओली झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतको गौरादह नगरपालिकाका विभिन्न वडामा हुने भेटकाट कार्यक्रमका लागि प्रस्थान गर्नुभयो । अध्यक्ष ओली केहि दिन देखि आफु उम्मेद्वार रहेको क्षेत्रका ग्रामिण भेगका मदाताहरुसँगको भेटमा व्यस्त रहनु भएको छ ।









