इलाम,२ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले समाजमा सकारात्मक सन्देश प्रवाह र पत्रकारको हितमा उत्कृष्ट योगदान गरेको भन्दै यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेको छ। शनिबार इलामको रोङ–५ इरौंटार, पाखागाउँमा आयोजित समारोहमा महासंघका अध्यक्ष एकराज गिरीलाई सम्मानपत्र र नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको हो।
कार्यक्रम पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान, भुर्तेल परिवारका सदस्य तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाको उपस्थिति रहेको थियो। पत्रकार महासंघ झापाले २०८१ बैशाख ३ गते पत्रकार सहारा उपचार अक्षयकोष स्थापना गरी सदस्य पत्रकारको सामाजिक सुरक्षा सुनिश्चित गर्दै आएको भन्दै यो सम्मान प्राप्त भएको हो। उक्त अवसरमा रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार साङ्वो सुवासलाई छत्र खतिवडा स्मृति प्रथम सिर्जनशील पुरस्कार, उत्कृष्ट विद्यालय तथा शिक्षकलाई शैक्षिक पुरस्कार र लोपोन्मुख जातिका छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो। वरिष्ठ पत्रकार कोइरालाले समाजमा सफल व्यक्ति र संस्थालाई सम्मान गर्नु प्रेरणादायी कार्य भएको बताउनु भयो्। पत्रकार महासंघ झापाले पत्रकारितामा दीगो योगदान र समाज सेवाका माध्यमबाट आफ्नो पहिचान बलियो बनाउँदै आएको छ।









