दमक,३ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) आज चौथो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनु हुँदैछ। देशव्यापी दौडाहामा रहनु भएका शाह मनोनयन पछि यसअघि तीन पटक झापा ५ पुगिसक्नुभएको छ। यस क्रममा उहाँ दमक, कमल, गौरादह र गौरीगञ्ज क्षेत्रसम्म पुग्नुभएको थियो।
अघिल्ला भ्रमणमा शाहले औपचारिक सभा नगरी मुख्य मुख्य स्थानमा गाडी रोकेर स्थानीय कार्यकर्तामार्फत क्षेत्रको अवस्थाबारे जानकारी लिने, साथै केही मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैली अपनाउँदै आउनुभएको छ। आज दिउँसो उहाँ विराटनगर विमानस्थल हुँदै निर्वाचन क्षेत्रमा आउनु हुने जानकारी यहाँको चुनाव परिचालन समितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्रीय सभापति भेषराज भट्टराईले दिनुभएको छ।
भट्टराईका अनुसार शाह कुन समयमा आइपुग्नु हुनेछ र कहाँ–कहाँ जाने भन्ने विषयमा अहिलेसम्म निश्चित तालिका तय गरिएको छैन। उहाँ आइपुगेपछि अवस्था हेरेर तालिका बनाइने र मतदातासँग भेटघाट गराउने तयारीमा टोली रहेको बताइएको छ। अन्तिम समयमा मात्र आगमनबारे जानकारी हुने भएकाले सुरक्षा निकाय र पार्टी दुवैलाई पूर्वतयारी सहित कार्यक्रम व्यवस्थापन गर्न केही कठिनाइ हुने गरेको भट्टराईको भनाइ छ।









