विराटनगर,३ फागुन । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाता सँगै रहेको बताउनु भएको छ।
निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बिचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनु भएको छ । ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उहाँले भन्नु भयो, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरू लिने नै छु ।’
नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताउनु भएको छ । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य लगायत उम्मेदवार हुनुन्छ । नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिनु भएको ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित हुनुन्छ।
ढकालका बुबा बिष्णु प्रसाद ढकालको १०१ वर्षको उमेरमा माघ २९ गते बिहान निधन भएको थियो । निर्वाचनको प्रचारमा खटिरहनु भएको ढकाल कोरामा बस्नुपरेपछि उहाँले भिडियो सन्देश जारी गर्नु भएको छ।









