मोरङ,३ फागुन । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको चुनावी माहोल फेरिएको छ। विगतमा नेपाली कांग्रेस र नेकपा एमाले बीच सीमित प्रतिस्पर्धा हुने यो क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी को उदयसँगै त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ।
कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र एमालेबाट पूर्वमेयर दिलिपकुमार बगडिया चुनावी मैदानमा हुनुन्छ। दुवैका लागि रास्वपाका उम्मेदवार कृष्णकुमार कार्की कडा चुनौती बन्नु भएको छ। विशेषगरी कांग्रेसको बलियो आधार मानिने दक्षिणी भेगमा कार्कीको प्रभाव बढ्दै गएको बताइन्छ। यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट जनजाति समुदायका उम्मेदवार चन्द्रबीर राई पनि प्रतिस्पर्धामा हुनुन्छ, जसले चुनावलाई थप रोचक बनाएको छ। कांग्रेसले घरदैलो र कोणसभा तीव्र पारेको छ।
मोरङ कांग्रेस सचिव मोदराज घिमिरेका अनुसार पार्टीले विगतका कमजोरी नदोहो¥याउने प्रतिबद्धतासहित जनतासँग प्रत्यक्ष संवाद गरिरहेको छ। उता, एमाले उम्मेदवार बगडियामाथि विकासका काम अपेक्षित नभएको आरोप छ। आधारभूत सेवा र पूर्वाधारलाई लिएर स्थानीय तहमा असन्तुष्टि देखिन्छ। यसपटक ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका कार्कीले श्रमिक र न्यून आय भएका वर्गमा पकड बनाइरहनु भएको छ्। मोरङ–२ मा यसपटक पार्टीको झण्डाभन्दा जनताको असन्तुष्टि र नयाँ विकल्पप्रतिको आकर्षण निर्णायक देखिन्छ। अन्तिम फैसला भने फागुन २१ गते नै हुनेछ।









