झापा,३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिनु भएको छ । भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुने बताउनु भएको छ । अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ को चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला आउनु भएको हो ।
अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भन्नु भयो, ‘चुनाव हुने भयो भने भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ।’ निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्न टोलटोल पुग्ने उहाँको भनाई थियो ।
ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनु भएको छ । अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको जनाउनु भएको छ। यस बारेमा सरकारले जान्नु पर्ने समेत बताउनुभयो ।
यस अघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गर्नु भएको थियो । यस दमक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने स्रोतले जनाएको छ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यहि भुगोलबाट निर्वाचित हुँदै आउनु भएको छ ।









