धरान,४ फागुन। धरानका पुर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ। घोषणापत्र मार्फत पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ।
प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास मार्फत देशलाई आत्मनिर्भर, समृद्ध र स्वाधीन बनाउने लक्ष्यसहित नयाँ राजनीतिक दर्शन “हर्कवाद” पनि प्रस्तुत गरिएको छ। घोषणापत्रमा श्रमलाई सर्वोपरि मूल्यका रूपमा स्थापित गर्दै श्रम बिना उन्नति सम्भव छैन भन्ने मान्यतालाई सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा लागू गरिने उल्लेख छ।
अल्छीपन, भ्रष्टाचार, विभेद, गरिबी र परनिर्भरता अन्त्यका लागि अनिवार्य श्रम र श्रमदान मुख्य उपाय हुने दाबी गरिएको छ। शासकीय संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने र दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था घोषणापत्रमा समावेश छ। संघीय संसद दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक हुने उल्लेख गरिएको छ।
कृषि, उद्योग, जडीबुटी, खानी, ऊर्जा र प्रविधिमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ। कृषिलाई पहिलो प्राथमिकता दिँदै बजेट विनियोजन, उन्नत बीउ–मल उत्पादन, सिंचाइ, सामुदायिक खेती र कृषि उद्योग स्थापना गर्ने नीति लिइएको छ। शिक्षामा जीवन उपयोगी र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै हप्तामा तीन दिन सैद्धान्तिक र चार दिन व्यवहारिक श्रम, उत्पादन र सीपमूलक तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
कक्षा १२ पछि अनिवार्य छ महिनाको सैनिक तालिम पनि घोषणापत्रमा समेटिएको छ। यसैगरी आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्य र शिक्षा बीमा, वृद्ध तथा अपाङ्ग भत्ता विस्तार गर्ने नीति अघि सारिएको छ। डिजिटल आर्थिक प्रणालीमार्फत अवैध सम्पत्ति नियन्त्रण, सरकारी बैठकहरू लाइभ प्रसारण र फजुल खर्च कटौती गर्ने प्रतिबद्धता जनाइएको छ। घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्न भने अझै बाँकी रहेको पार्टी नेताहरूले बताएका छन्।









