झापा, ६ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका ५ निर्वाचन क्षेत्रमा गरी ९० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म ६२ जनाले मात्र निर्वाचन लक्षित बैंक खाता खोलेको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि २८ जना उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।
दिनका दिन ताकेता गरिरहेपनि हिजोसम्म ६२ जनाले मात्र बैंक खाता खोलेको झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिनु भयो । उहाँले ठूला दलका उम्मेदवारहरुले खोलिसकेको बताउँदै साना दलका उम्मेदवारहरुले खोल्न बाँकी रहेको जानकारी दिनु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि २५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनु भएको थियो ।
आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उहाँले जानकारी दिनु भयो । भूगोलअनुसार उम्मेदवारले २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।









