सुनसरी,६ फागुन। सुनसरी बाट मंगलबार साँझ नक्कली नोटसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका–१० का २५ वर्षीय आजाद मियाँ पक्राउ परेका हुन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मियाँले इनरुवा–५ स्थित तरकारी बजारमा शब्जी खरिद गर्ने क्रममा नक्कली नोट दिएका थिए । त्यसको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले साँझ ७ बजेतिर उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मियाँको साथबाट पाँच सय दरका ८ वटा नक्कली नोट बरामद भएको जानकारी डीएसपी खड्काले दिनु भयो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनले नक्कली नोट कहाँबाट ल्याएका हुन् र यस्तो अवैध धन्दामा को को संलग्न छन् भन्ने बारेमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।









