जनकपुर,६ फागुन । नेपाली कांग्रेसले आउँदो निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापाले घोषणापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो। कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ। यसको विस्तृत अंश भने भोलि काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सार्वजनिक गरिने पार्टीले जनाएको छ।
उक्त कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि छ। प्रतिज्ञापत्रमा युवाहरूका लागि स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजी देश विकासमा जोड्ने वाचा गरिएको छ। किसानका लागि सिँचाइ र मलको समस्या समाधान, कृषि बीमा र भन्सार नीतिमा सुधार, तथा नेपाली उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता गरिएको छ। स्वास्थ्य क्षेत्रमा उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने, शिक्षालाई प्रविधिसँग जोड्ने र सुशासनका लागि डिजिटल नेपालमार्फत भ्रष्टाचार नियन्त्रण गर्ने कांग्रेसको प्रतिज्ञा छ।









