बिर्तामोड,७ फागुन । झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आज बिहिबार विहान न्यूज २४ ले आयोजना गरेको निर्वाचन विशेष ‘इलेक्शन डिबेट’ मा रास्वापको उम्मेदवार अनुपस्थित भएपछि सहभागीले प्रश्नबाट भागेको भन्दै आलोचना गर्न थालेका छन् ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु सहभागी भएको डिवेटमा रास्वपाको उम्मेदवार इन्दिरा राना मगर अनुपस्थित हुनु भएको थियो । रास्वपाको उम्मेदवार कार्यक्रममा सहभागी नभएपछि उहाँको खोजी गरेका थिए । झापामा भएका ३ वटा इलेक्शन डिवेटमा रास्वपाका उम्मेदवारहरु अनुपस्थित भएका छन् । झापा ५ मा बालेन शाह, क्षेत्र नं. ३ का प्रकाश पाठक र २ मा इन्दिरा राना मगर अनुपस्थित हुनु भएको हो् । क्षेत्र नं. ३ मा जेसीजले डिवेटको आयोजना गरेको थियो ।
आज विहान भएको डिवेटमा नेपाली कांग्रेसको उम्मेदवार सरिता प्रसाई, एमालेका देवराज घिमिरे, नेकपाको धर्मशिला चापागाई, राप्रपाका भद्रप्रसाद नेपाल, श्रम संस्कृति पार्टीका केशव भण्डारी, नेकपा विप्लपका अर्जुन पाण्डे, स्वतन्त्र उम्मेदवार युवराज संग्रौला, उज्यालो पार्टीका चुडाकर्ण बेघा र जसपाका तिलक बहादुर राई (अभिषेक) उपस्थित रहनु भएको थियो ।
डिवेटमा बसपार्कको ५१ विघाको समस्या, सुकुम्बासी समस्या, जेनजीको माग, चुरे दोहन लगायतका विषयहरुमा सहभागीहरुले प्रश्न गरेका थिए । राप्रपाका उम्मेदवार नेपालले संविधान खारेजी र राजा ल्याउने विषयमा बोलेपछि अन्य उम्मेदवारहरुले नै प्रतिकार गरेका थिए ।
रास्वपाको उम्मेदवार नआएको विषयमा सर्वसाधारणले चासो व्यक्त गरेपछि सो पार्टीका कार्यकर्ताहरुले जनताको प्रश्नलाई नै अपमान गर्दै प्रतिक्रिया दिइएका थिए ।
जनताको सामना नगर्ने, जनताको प्रतिनिधित्व गर्ने सञ्चारमाध्यमको सामना नगर्ने , जनताको माझमा जवाफ नदिने नेतृत्वको काम छैन भन्दै कार्यक्रम सञ्चालक विजय पौडेलले डिवेट अन्त्य गर्नु भएको थियो ।









