काठमाडौँ,७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेनजी विद्रोहका क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्नु भएको छ्। बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले उक्त घटनाका कमजोरीप्रति आफ्नो पार्टीले जिम्मेवारी लिने स्पष्ट पार्नु भएको छ ।
आन्दोलनको समयमा कांग्रेस सरकारको प्रमुख सहयात्री रहेकाले त्यसबेला भएका प्रशासनिक तथा राजनीतिक त्रुटीको जिम्मा लिन पार्टी तयार रहेको उहाँको भनाइ छ। सभापति थापाले सम्बोधनका क्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका आफन्तसँग सार्वजनिक रूपमा क्षमा समेत माग्नु भएको छ्।
उहाँले २००७, २०४६ र २०६३÷६४ सालका ऐतिहासिक जनआन्दोलनहरूमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको र ती आन्दोलनप्रति सधैँ गौरव गर्ने गरेको स्मरण गराउनु भयो। तर, भदौ २३ र २४ गते युवाहरूले सडकबाट उठाएका मागहरूलाई सम्बोधन गर्न सके मात्रै ती गौरवका गाथाहरूले पूर्णता पाउने थापाको तर्क छ। उहाँले अबका दिनमा कांग्रेस जेन–जी युवाहरूको भावना र चाहना अनुसार नै अगाडि बढ्ने प्रतिज्ञा गर्नु भएको छ।
यसैगरी थापाले अबको राजनीतिमा असैद्धान्तिक र अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। सत्ताका लागि मात्र गरिने गठबन्धनले लोकतन्त्र र राजनीतिक स्थिरतालाई कमजोर बनाएको स्वीकार गर्दै उहाँले कांग्रेस अब आफ्नै एजेन्डा र शक्तिमा अगाडि बढ्ने संकेत गर्नु भएको छ।
आगामी निर्वाचनमा मतदाताहरूलाई नयाँ आशा र भरोसा दिलाउनका लागि पनि विगतका गल्तीहरू सुधार्दै अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनु भयो।









