इलाम, ७ फागुन। आज बिहिबार प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न नमुना मतदानमा ८० जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका छन् ।
नमुना मतदानमा अपाङता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने ? मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको स्रोतले जनाएको छ। मतदान पछि आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नमुना मतदानमा मतदाता, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि व्यवस्थापन, निर्वाचन कर्मचारीहरूको परिचालनको नमुना अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले जानकारी दिनु भयो।









