सुर्खेत,७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ । रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार एक कार्यक्रमबीच चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
रास्वपा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले चुनावी वाचापत्र सार्वजनिक गर्नु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटिएको चुनावी बाचापत्र सार्वजनिक गरेको छ। बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ। पार्टीले अनलाइन प्रणाली मार्फत सार्वजनिक सेवा उपलब्ध गराउने, बिचौलियालाई अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवा आधार बनाउने प्रतिबद्धता जनाएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने नीति लिइने उल्लेख छ। अर्थतन्त्रतर्फ डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवद्र्धन र ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकता दिँदै उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्दै गैर–आवासीय नेपालीलाई पूर्ण अधिकार दिने प्रतिबद्धता पनि बाचापत्रमा समावेश छ। वातावरण संरक्षण, पूर्वाधार विकास र सामाजिक न्यायसमेत यसमा प्राथमिकताका विषय बनेका छन्।









