काठमाडौँ,८ फागुन। दाङको तुलसीपुरमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको जनाएको छ ।
शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सहायक प्रवक्ता सीता पुनले आयोगले आधिकारिक निर्णय गरिनसकेको बताउनु भयो ।
‘निर्वाचन आचारसंहिता अथवा आचारसंहिता विपरीतका कार्य भए भने निर्वाचन कसुर सजाय ऐन अन्तर्गत रहेर निर्वाचन आयोगले कारबाही गर्ने हो । यस विषयमा अहिलेसम्म आयोगबाट निर्णय नभइसकेकाले यहाँ मैले थप बोलिरहनुपरेन’, पुनले भन्नु भयो ।
रास्वपाका सभापति रवि लामिछाने कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दाङ आउनेक्रममा स्वागतका लागि पर्खिएका रास्वपाका कार्यकर्ताहरूले चुनाव चिन्ह सूर्य अङ्कित झण्डा जलाएको एमालेले आरोप लगाएको छ । यस्तै राजनीतिक दलहरूबाट फागुन ४ गतेबाट निर्वाचन खाता सञ्चालन होस् भन्ने आयोगको अपेक्षा रहेको उहाँले बताउनु भयो ।









