काठमाडौँ,१२ फागुन । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन सार्ने विभिन्न बहानाहरू भइरहेको भन्दै तोकिएकै समय (फागुन २१) मा निर्वाचन हुनुपर्ने बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले निर्वाचन प्रचारप्रसार संयोजक मीन बहादुर शाहीले निर्वाचनबारे एमालेप्रति लहर बढ्दै गएको भन्दै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताउनु भएको छ् ।
‘मुलुक निर्वाचनमा होमिएको बेला, एमालेप्रति जनताको आकर्षण बढेको बेला निर्वाचन सार्ने हल्ला चलेकोप्रति एमालेको आपत्ति छ’, शाहीले भन्नु भयोे, ‘निर्वाचन समयमा हुनुपर्दछ ।’
प्रतिनिधि सभा पुनस्थार्पनाप्रति एमालेको अडान कायमै रहेको भन्दै उक्त मुद्दामा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेकोमा असन्तुष्टि जनाएको छ ।
त्यस्तै केहीले मत सर्वेक्षणका नाममा यसले जित्ने र उसले हार्ने भनेर गर्नुले प्रणालीलाई कमजोर बनाउने र मतदाता दिग्भ्रमित पार्ने कोसिस भइरहेकोप्रति आपत्ति जनाएको हो।
.
साथै कतिपय पार्टी र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले बालेन शाह अङ्कित टिसर्ट छापेर प्रचार गरिरहेको जनाएको छ ।
‘टिसर्टमा फोटो छाप्ने र भौतिक सामग्री बोकेको पाइन्छ । यो रोकिनुपर्छ’, पत्रकार सम्मेलनमा शाहीले चेतावनी दिँदै भन्नु भयो, ‘यो तत्काल रोकिनुपर्छ । यदि आचारसंहितामा भइरहेको उल्लङ्घन रोकिएन भने यसबाट निस्कने परिणामको आयोग आफै जवाफदेही बन्नुपर्नेछ ।’ त्यस्तै एमालेले आफ्नो पार्टीका झण्डा जलाउने, आफ्ना अध्यक्षमाथि गरिएका अपमाजक कार्यप्रति भत्र्सना गरेको हो।









