इटहरी,१२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भएको छ। मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनु भएको छ।
पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउनु भयो । खानेतेलदेखि मरमसलासम्मका उद्योग यहाँ भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको उहाँको भनाइ छ । नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
उहाँका अनुसार हाल नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल–बल्ल फ्याक्ट्री खुलिहाले पनि चलाउन थालेपछि चन्दा आतंक शुरु हुने गरेको उहाँले बताउनु भयो । अब चन्दा आतंक बन्द हुने उहाँको दाबी छ । उहाँले पुर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्नेमा पनि जोड दिनु भएको छ ।
पूर्वी तराईका चार जिल्लामा पूर्ण रूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने उहाँको दाबी छ । उहाँले पूर्वी पहाडमा उत्पादन भएको कृषि उपजलाई तराईमा लैजाने बताउनु भयो । साहले पूर्वका धार्मिक तथा सांस्कृतिक स्थलहरू—मुकुलुङ र खुवालुङ—लाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने पनि दाबी गर्नु भएको छ ।









