विराटनगर,१८ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थामा राष्ट्रिय शक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ।
रङहरूको पर्व फागुपूर्णिमा (होली) को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय शक्तिलाई एकीकृत गर्दै मुलुकलाई सही निकास दिन यस पर्वले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री कार्कीले होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारी बोधका साथ अगाडि बढ्न ऊर्जा प्रदान गर्ने उल्लेख गर्नु भएको छ् । उहाँले भन्नु भएको छ , ‘समाजमा भ्रम र निराशाहरू छरेर अगाडि बढ्न खोज्नेहरूलाई परास्त गर्दै सकारात्मक ऊर्जाका साथ अघि बढ्न यस पर्वले सबैलाई शक्ति प्रदान गर्नेछ।’
आफ्नो विवेक, बुद्धि र क्षमतालाई सही ढंगले प्रयोग गर्दै राष्ट्रिय शक्ति निर्माणको साझा लक्ष्य पूरा गर्न सबै नेपाली अग्रसर हुनुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री कार्कीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य प्राप्त गर्न होली पर्वले सबैमा नयाँ उत्साह र उत्प्रेरणा जगाउने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
नेपालको बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक विशेषताको चर्चा गर्दै उहाँले नेपालीहरूको मौलिक परम्परा र संस्कृतिले नै देशलाई समृद्ध बनाएको बताउनु भयो। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आज र तराईका जिल्लाहरूमा भोलि हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। मुख्यमन्त्री कार्कीले सम्पूर्ण प्रदेशबासी तथा देशबासीलाई होलीको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।









