काठमाडौँ,२० फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आज बुधबार राति १२ बजेदेखि देशभर अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ। मतदान प्रक्रियालाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचन आयोगको सिफारिसमा सरकारले यो निर्णय गरेको हो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आज बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म अर्थात् मतदान सम्पन्न नहुन्जेल सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जनाइएको छ। मतदानको दिन सुरक्षा व्यवस्थालाई थप कडा बनाउन र मतदाताहरूलाई सहज वातावरण मिलाउन यस्तो कदम चालिएको आयोगले स्पष्ट पारेको जनाइएको छ।
सवारी आवतजावतमा रोक लगाइए पनि मानवीय र प्राविधिक हिसाबले अतिसंवेदनशील क्षेत्रका सवारीलाई भने सञ्चालनको अनुमति दिइएको जनाइएको छ। यसअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी साधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी आकस्मिक सेवाका सवारी साधनहरू निर्वाध रूपमा चल्न पाउने भएका छन्। त्यसैगरी, कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक पास प्राप्त सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइने जनाइएको छ।
सूचना अधिकारी घिमिरेले सम्पूर्ण मतदाता तथा सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्नुपर्ने भए सवारी साधन बन्द हुनु अगावै पुगिसक्न विशेष आग्रह गर्नु भएको छ्। उहाँले राति १२ बजेपछि अतिआवश्यक र पास भएका बाहेकका गाडी चल्न नदिइने भएकाले यात्रुहरूले समयमै आफ्नो यात्रा तय गर्नुपर्ने बताउनु भयो। निर्वाचनको समयमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा आकस्मिक समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न समेत आयोगले अनुरोध गरेको जनाइएको छ। यस्तो अवस्थामा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।









