खोटाङ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा स्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो । अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिएकोछे । हेलिकप्टर टुक्रा टुक्रा भएको छ । तर यो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार के कारणले यो दुर्घटना भएको केही खुलेको छैन । हेलिकप्टर पल्टिएपछि पाइलट त्यहाँबाट अन्यत्र गएको स्थानीय प्रत्यक्षदर्शीले जनाएकी छन् ।









