दमक | ६ चैत्र | झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले भन्सार छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।
आज साँझ करिब ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेका सामान नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सामानमा किराना सामग्री, कपडा तथा विभिन्न कस्मेटिक सामग्री रहेका छन् । ती सामानको अनुमानित मूल्य तीन लाख २२ हजार सात सय उन्नब्बे रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ । यस क्षेत्रमा भन्सार छलि रोक्न सुरक्षा निगरानी थप कडा बनाइएको पनि प्रहरीले जानकारी दिएको छ ।









