काठमाडौं,७ चैत । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भएको छ् ।
६१औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको मूल समारोहमा बोल्दै उहाँले संविधानले जातीय विभेद गर्न नहुने स्पष्ट रूपमा व्यवस्था गरेको भए पनि व्यवहारमा त्यसको पूर्ण पालना नभएको उल्लेख गर्नु भएको छ।
उहाँले आयोगमा जातीय विभेदसम्बन्धी उजुरीहरू अझै आउने गरेको, यद्यपि विगतको तुलनामा केही कमी आएको बताउनु भयो । ‘जातीय विभेद कुनै पनि हालतमा हुनुहुँदैन,’ उहाँले भन्नु भयो, ‘दलित समुदायको अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग निरन्तर लागिरहेको छ ।’
मगरले मानवसँग जोडिएका सबै अधिकारहरूको संरक्षण आयोगको दायित्वभित्र पर्ने उल्लेख गर्दै दलित, मुस्लिम, आदिवासी जनजाति लगायत सबै समुदायसँग समन्वय गरेर अघि बढिरहेको जानकारी दिनु भयो । आयोगले जातीय विभेदसम्बन्धी अनुसन्धान गरी प्रतिवेदन तयार गरिसकेको र त्यसका आधारमा समाधानका उपायहरू अघि बढाइरहेको उहाँले बताउनु भयो । ‘मानिससँग जोडिने हरेक कुराको संरक्षण राष्ट्रिय मानव अधिकार आयोगसँग जोडिएको छ । हामी सबै दलितको, मुस्लिमको, आदिवासी जनजाति सबै यसमा पर्छन् हामी सबै आयोगसँग समन्वय गरेर अघि बढीरहेका छौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेद सम्बन्धी अनुसन्धान गरेको छ, प्रतिवेदन पनि तयार गरेको छ त्यसमा विभिन्न कुराहरु छन् जो उल्लेख समेत गरिएका छन् । त्यसमा जातीय विभेद कसरी रोक्न सकिन्छ भनेर अघि बढीरहेका पनि छौं । सरकारलाई सुझाव दिएका छौं, तर त्यसको कार्यान्वयन हुनुपर्छ । कानुन मात्र भएर पुग्दैन,’ उहाँले भन्नु भयो ।
यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाली समाजमा विद्यमान जातीय व्यवस्थाले त्रासदीपूर्ण अवस्था सिर्जना गरेको बताउनु भयो । उहाँले यस अवस्थालाई ‘आतंक’को रूपमा चित्रण गर्दै त्यसले दलित समुदायलाई अत्यन्तै असुरक्षित महसुस गराइरहेको उल्लेख गर्नु भयो । ‘यो दिवसको माध्यमले नेपाली समाजमा रहेको जुन जात व्यवस्था छ त्यो जात व्यवस्थाले उत्पन्न गरेको त्रासदीपूर्ण अवस्था छ । एक प्रकारले भन्ने हो भने आंतक पनि छ । त्यो आंतकले दलितहरुलाई बाचौं की मरौं भन्ने बनाइरहेको छ । दलित समुदायको मानव अधिकार यसरी हनन भएको छ की अर्को समुदायको मान्छे भेट हुँदाखेरि पनि दलित समुदायको मान्छेलाई आंतक सिर्जना हुन्छ,’ उहाँले भन्नु भयो ।
विश्वकर्माले नाम, थर वा जात सोध्ने चलनले दलित समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याउने बताउनु भयो । ‘आफ्नो पहिचान भन्नुपर्ने बाध्यताले उनीहरूको स्वाभिमान धुलोमा मिल्ने अवस्था आएको छ । यस्तो परम्पराले समाजलाई पछाडि धकेलेको छ,’ उहाँले भन्नु भयो ।
त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव जीवनमा आत्मसम्मान सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनु भयो । उहाँले भ्रूण अवस्थादेखि नै मानव सुरक्षाको सुरुवात हुने र जन्मपश्चात पोषण, शिक्षा तथा स्वास्थ्यको सुनिश्चितता आवश्यक रहेको बताउनु भयो ।
कार्कीले सुरक्षा केवल भौतिक सुरक्षामा सीमित नभई ‘मानव सुरक्षा’को व्यापक अवधारणामा बुझ्नुपर्ने धारणा राख्नु भयो । ‘२१औँ शताब्दीमा आइपुग्दा पनि जातीय र रंगभेदका कुरा भइरहनु दुःखद हो । यसको छिट्टै अन्त्य गर्न हामी सबैको साझा दायित्व छ,’ उहाँले भन्नु भयो ।









