दमक | ८ चैत | झापाको बुद्धशान्ति गाउँपालिकामा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्। आज दिउँसो करिब १ बजे बुद्धशान्ति–४ टिमाईस्थित कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा घटना भएको हो।
प्रहरी टोलीले डिभिजन वन कार्यालय झापासँग समन्वय गरी चितुवा नियन्त्रणको प्रयास गरेको थियो। सोही क्रममा साँझ करिब ६ बजे सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको विशेषज्ञ टोलीले चितुवा नियन्त्रणमा लिन खोज्दा चितुवा आक्रामक बनेको थियो।
चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी बल टिमाई सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ घाइते भएका छन्। उनको अनुहार, हात, खुट्टा, कान र बायाँ पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।
यस्तै, बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गा बहादुर कटुवाल र मेचिनगर–१० का २६ वर्षीय विशाल कार्की समेत चितुवाको आक्रमणबाट सामान्य घाइते भएका छन्।
घाइते चारै जनाको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ।
उता, चितुवाले स्थानीयलाई समेत आक्रमण गर्न थालेपछि आक्रोशित स्थानीयले कुटपिट गर्दा चितुवाको मृत्यु भएको छ। मृत चितुवालाई आवश्यक प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय झापामा लगिएको प्रहरीले जनाएको छ।









