काठमाडौ | ८ चैत | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न हालको निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।
लामिछानेले प्रधानमन्त्रीको दृढता र अडानकै कारण देशले लोकतान्त्रिक निकास पाएको बताउँदै सानो समय र सीमित स्रोतका बाबजुद पनि गुणस्तरीय निर्वाचन सम्पन्न हुनु उल्लेखनीय रहेको धारणा राख्नुभयो। साथै आगामी दिनमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक पर्ने बताउँदै अभिभावकीय भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो।
यसैबीच प्रधानमन्त्री कार्कीले रास्वपालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिँदै देशप्रति उच्च अपेक्षा रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूले जिम्मेवार ढंगले काम गर्दै देशवासीको भरोसा जित्नुपर्नेमा जोड दिनुभयो। “देश अहिले संवेदनशील अवस्थामा छ, चुनौती धेरै छन्, तर इमानदार प्रयासबाटै परिणाम हासिल गर्न सकिन्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
भेटका क्रममा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारलाई आवश्यक सहयोग रहने बताउनुभयो।
त्यसैगरी, उहाँले अर्को सरकार गठन नहुँदासम्म पूर्ण क्षमताका साथ काम गर्न सुझाव दिँदै विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो।
विशेषगरी पोर्चुगलमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।









