“कुखुरामा देखिने बर्डफ्लु ले मानव स्वास्थ्यमा असर गर्दैन “

दमक , ९ चैत । दमकको कुखुरा व्यवसाय फेरि एक पटक बर्डफ्लूको चपेटामा परेको छ। लेयर्स कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएका दमक–१० का देवेन्द्र प्रसाईंको फार्ममा भएको घटनाले अहिले स्थानीय पोल्ट्री व्यवसाय नै तरंगित बनाएको छ। प्रसाईंले करिब २० हजार कुखुरा पाल्नुभएको थियो। सबै कुरा सामान्य चलिरहेको थियो। तर चैत २ गते बेलुकासम्म ठीकठाक देखिएका कुखुरा भोलिपल्ट बिहान खोरमै लडेको अवस्थामा भेटिए। सुरुमा हावाहुरी वा मौसमको असर हुनसक्ने अनुमान गरेर उहाँले आफूलाई सम्हाल्ने प्रयास गर्नुभयो।

 

तर शंका हटेन। नमुनाका रूपमा एउटा मरेको कुखुरा परीक्षणका लागि प्रयोगशालामा पठाइयो। आइतबार आएको रिपोर्टले सबै शंका तोडिदियो। कुखुरामा बर्डफ्लू पुष्टि भयो। त्यसपछि स्थिति झन् गम्भीर बन्यो। हालसम्म प्रसाईंको फार्ममा ११ हजारभन्दा बढी कुखुरा मरेका छन् भने करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

 

यो घटना सार्वजनिक भएपछि र स्थानीय तहले सचेत रहन आग्रह गर्दै सूचना जारी गरेपछि बजारमा पनि असर देखिन थाल्यो। उपभोक्तामा डर फैलिँदा दमक क्षेत्रका कुखुराको मासु र अण्डाको बिक्री लगभग ठप्पजस्तै भएको व्यवसायीहरू बताउँछन्। तर विशेषज्ञहरूले भने यसबारे फैलिएको त्रास अतिरञ्जित भएको स्पष्ट पारेका छन्। कुखुरा पालक संघको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै प्राध्यापक डा. सुमिर सिंहले बर्डफ्लू मानव स्वास्थ्यमा सर्ने रोग नभएको दाबी गर्नुभयो। उहाँका अनुसार यो भाइरस कुखुरामा मात्र सक्रिय हुन्छ र उचित तरिकाले पकाएर खाँदा कुनै जोखिम हुँदैन।

 

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “यदि यो भाइरस मानवमा सजिलै सर्ने हुन्थ्यो भने हामी जस्ता प्रयोगशालामा काम गर्नेहरू सबैभन्दा बढी जोखिममा हुन्थ्यौं। तर वास्तविकता त्यस्तो होइन।” डा. सिंहका अनुसार कुखुरा जीवित अवस्थामा हुँदा भाइरस सक्रिय हुन्छ, तर मरेपछि यो निष्क्रिय हुने भएकाले मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा कुनै असर गर्दैन। यसैबीच कुखुरा पालक संघ कोशी प्रदेशका अध्यक्ष माधव पराजुलीले गलत सूचना र बुझाइका कारण किसान ठूलो आर्थिक संकटमा पर्ने अवस्था आएको बताउनुभयो। उहाँले एकै दिनको अफवाहले लाखौँदेखि करोडौँसम्मको क्षति हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

 

उहाँले अर्को पक्षतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। गलत समयमा फैलिने डरका कारण छिमेकी देशबाट अवैध रूपमा कुखुरा तथा अण्डा भित्रिने जोखिम बढ्ने र त्यसले झन् ठूलो संक्रमणको खतरा निम्त्याउन सक्ने उहाँको भनाइ छ। अहिले दमकको पोल्ट्री व्यवसाय दुई किसिमको दबाबमा छ। एकातिर रोगको वास्तविक क्षति, अर्कातिर बजारमा फैलिएको डर र भ्रम। विशेषज्ञहरूले भने तथ्यमा आधारित सचेतना मात्र अपनाउन आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा