दमक, १० चैत । ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय दमकका अनुसार लागुऔषध मुद्दामा पक्राउ परेका एक व्यक्तिलाई छुटाइदिने भन्दै उनका परिवारसँग रकम ठगी गरेको घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।
घटनाअनुसार गत फागुन २५ गते दिउँसो करिब १ बजे झापाको कमल गाउँपालिका–६ गुबाबारी सडक खण्डबाट खैरो हेरोइनसहित लक्ष्मण राजवंशी पक्राउ परेका थिए। उनी माथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको थियो।
त्यस क्रममा उनलाई हिरासतबाट निकालिदिने र छुटाइदिने भनी विश्वासमा पार्दै उनका दाजु रामप्रसाद राजवंशीसँग १ लाख ५० हजार रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ।
उक्त ठगीमा संलग्न भएको आरोपमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ का ३२ वर्षीय सुमन खड्का संलग्न रहेको खुल्न आएको छ।
पीडितको सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा अनुसन्धान भइरहेको र जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









