काठमाडौं,१२ चैत । भदौ २३ र २४ गते देशभर भएका हिंसात्मक घटनाको समयमा सुरक्षा संयन्त्र, राजनीतिक नेतृत्व र सडकमा रहेका व्यक्तिबीच बाक्लो टेलिफोन संवाद भएको तथ्य सार्वजनिक भएको छ। अनुसन्धानका क्रममा संकलित कल डिटेल रेकर्ड र बीटीएस डाटा विश्लेषणले घटनाकालमा उच्च तहसम्मको सम्पर्क सञ्जाल सक्रिय रहेको देखाएको छ।
तोडफोड र आगजनी भइरहेका बेला पानी बाँड्न सडकमा देखिएका सुदन गुरुङ ले सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल सँग ६ पटक र तत्कालीन काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी सँग २ पटक फोन सम्पर्क गरेको विवरणमा उल्लेख गरिएको छ।
सुरक्षा निकायको आन्तरिक सञ्जालमा तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङ अत्यन्त सक्रिय देखिएका छन्। उहाँले ती दुई दिनमा विश्व अधिकारीसँग ४२ पटक कुराकानी गर्नु भएको थियो। यसैबीच वर्तमान आईजीपी दानबहादुर कार्की र खापुङबीच ४ पटक संवाद भएको छ भने विश्व अधिकारी र प्रहरी अधिकारी ओम राणा बीच ५३ पटक सम्पर्क भएको देखिन्छ।
राजनीतिक नेतृत्वसम्म पनि यो संवादको सञ्जाल जोडिएको देखिएको छ। गृहमन्त्री रमेश लेखक र उहाँको सचिवालय यस अवधिमा सुरक्षा संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेको पाइएको छ। गृहमन्त्रीका पीए जनक भट्ट ले पनि सुरक्षा अधिकारीहरूसँग पटक–पटक संवाद गर्नु भएको थियो।
त्यस्तै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली को सचिवालय पनि सक्रिय देखिएको छ। ओलीका पीए राजेश बज्रचार्य ले सुरक्षा र गृह नेतृत्वसँग सम्पर्क गर्नु भएको थियो भने प्रधानमन्त्री सचिवालयका विष्णु रिमाल ले सशस्त्र प्रहरी प्रमुख र काठमाडौँ प्रशासनसँग कुराकानी गरेको विवरणमा उल्लेख छ।
यी सबै सम्पर्कको केन्द्रमा भने तत्कालीन काठमाडौँ प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेको देखिन्छ। उहाँले गृह सचिव गोकर्णमणि दुवाडी सँग ९ पटक, मुख्य सचिव एक नारायण अर्याल सँग ७ पटक र सह–सचिव आनन्द काफ्ले सँग १० पटक संवाद गर्नु भएको थियो।
उच्च तहसम्मको यस्तो फोन सम्पर्कले हिंसात्मक घटनाको समयमा सुरक्षा र राजनीतिक नेतृत्वबीचको समन्वयबारे थप प्रश्न उठाएको छ। अनुसन्धान जारी रहेको बताइएको छ।












