काठमाडौँ,१२ चैत ।हिन्दुवादी तथा राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनु भएको छ ।
बिहीबार सिंहदरबारमा आयोजित शपथ ग्रहण समारोहमा उहाँले संस्कृत भाषामा शपथ लिनु भएको छ । संस्कृत भाषामा शपथ लिने उहाँ एक्ली सांसद हुनुन्छ ।
यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिनु भएको छ । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद हुनु भएको छ ।
ओलीले सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत भएको बताउनु भयो। ‘तर विश्वका अमेरिका देखि जर्मनीसम्मका मुलुकहरूले यसको महत्त्व बुझेर संरक्षण र अध्ययन गरिरहेका बेला, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दिएका छौं’, उहाँले भन्नु भयो्, ‘त्यसैले, यही यथार्थलाई उजागर गर्न, हाम्रो पहिचानप्रति गर्वका साथ उभिन, हरेक विद्यालयहरूमा फेरि पनि संस्कृतको कक्षा सुचारु गर्न र संस्कृतको संरक्षण तथा प्रवद्र्धनको सशक्त सन्देश दिन मैले संस्कृत भाषामै शपथ लिने निर्णय गरेकी हुँ।’
शपथग्रहण समारोहमा ६३ सांसदले मातृभाषामा शपथ लिएको जनाइएको छ ।










