काठमान्डौं,१४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै चार बुँदे निर्णय सार्वजनिक गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने घोषणा गरेको हो। बैठकले वर्तमान परिस्थितिलाई लोकतन्त्र र कानुनी राज्यको सिद्धान्तसँग जोडेर व्यापक आन्दोलनका कार्यक्रमहरू तय गरेको जनाएको छ।
निर्णयअनुसार आजै अपराह्न ३ बजे देशभरका जिल्लाको सदरमुकाममा जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (ऋम्इ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
यसैगरी, बैठकले लोकतन्त्र र कानुनी शासनका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य अघि बढाउने निर्णय पनि गरेको छ। नागरिक समाज र आम जनसमुदायसँग सहकार्य विस्तार गर्दै आन्दोलनलाई थप सशक्त बनाइने एमालेले जनाएको छ।









