दमक , १४ चैत । झापाको दमकमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
आज बिहान करिब ८ बजे दमक नगरपालिका–८ सेतुमारी रोडका २८ वर्षका निरोज साह करेन्ट लागेर गम्भीर घाइते भएका थिए। आफ्नै किराना पसलबाट पूर्वतर्फ रहेको आफ्नै तीनतले घरमा सिसिटिभी क्यामेराको तार तान्ने क्रममा उनले छिमेकी मनोज साहको दुईतले घरको छतबाट तार तानिरहेका थिए।
सो क्रममा तार उच्च भोल्टेजको लाइनमा छोइँदा विद्युत सर्ट भई उनी करेन्ट लागेर घाइते भएका प्रहरीले जनाएको छ।
घाइते साहलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान ९ बजेर २० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।









