ह्याकिङ र अनलाइन ठगी बढ्दो

काठमाडौं,१५ चैत । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । यससँगै अनलाइनमार्फत हुने ठगीका घटना पनि बढ्दो क्रममा रहेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार यी घटनाहरूको मूल कारण प्रविधिको दुरुपयोगभन्दा बढी प्रयोगकर्ताकै असावधानी र साइबर सुरक्षाबारेको न्यून ज्ञान रहेको पाइएको छ ।

 

प्रहरी उपरीक्षक तथा साइबर ब्यूरोका सूचना अधिकारी दीपक अवस्थीले सामाजिक सञ्जाल ह्याक हुने घटनाबारे स्पष्ट पार्दै अधिकांश केसमा प्रयोगकर्ताले अपरिचित स्रोतबाट आएको लिंक क्लिक गर्ने, ह्याकरले पठाएको लिंक वा कोड सेयर गर्ने, तथा नचिनेका व्यक्तिको कुरामा सजिलै विश्वास गर्ने प्रवृत्तिका कारण समस्या बढिरहेको बताउनु भयो ।

 

‘हामी कहाँ आउने पीडितहरूको अनुभव हेर्दा धेरैजसो घटना प्रयोगकर्ताको सानो गल्तीका कारण भएको पाइन्छ । ह्याकरहरूले विभिन्न बहानामा लिंक पठाउने, आफूलाई कुनै प्रतिष्ठित संस्था वा व्यक्तिको रूपमा चिनाउने, र त्यसैमार्फत प्रयोगकर्तालाई झुक्याउने गर्छन्,’ उहाँले भन्नु भयो।

उहाँका अनुसार अहिले ह्याकरहरूले नयाँ–नयाँ तरिका अपनाउँदै प्रयोगकर्तालाई जालमा पार्ने गरेका छन् । उदाहरणका लागि, अन्तर्राष्ट्रिय मिटिङमा सहभागी गराउने, आकर्षक रोजगारी दिने, वा कुनै पुरस्कार जितेको भन्दै सम्पर्क गर्ने जस्ता प्रलोभनपूर्ण सन्देशहरू पठाइन्छन् । यस्ता सन्देशमा विश्वास गरेर प्रयोगकर्ताले कोड वा व्यक्तिगत जानकारी सेयर गर्दा अकाउन्ट ह्याक हुने सम्भावना अत्यधिक हुन्छ ।

 

साइबर सुरक्षाका आधारभूत उपायहरू अवलम्बन नगर्नु अर्को प्रमुख समस्या भएको अवस्थी बताउँनु हुन्छ । ‘धेरै प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा उपलब्ध सुरक्षात्मक विकल्पहरू प्रयोग गरेका हुँदैनन् । जस्तै ‘टु–स्टेप भेरिफिकेसन’ जस्तो महत्वपूर्ण सुविधा धेरैले सक्रिय नै गरेका छैनन्, उहाँले भन्नु भयो। उहाँका अनुसार यदि यो सुविधा प्रयोग गरिएको भए, ओटीपी मात्र प्रयोग गरेर अकाउन्ट ह्याक गर्न सजिलो हुँदैनथ्यो,’ उहाँले भन्नु भयो।

 

पासवर्डको सन्दर्भमा पनि उहाँले महत्वपूर्ण कुरा औंल्याउनु भएको छ । बलियो पासवर्ड राख्नु राम्रो अभ्यास भए पनि त्यसले मात्र पूर्ण सुरक्षा दिन नसक्ने उहाँको भनाइ छ । ‘यदि प्रयोगकर्ताले ओटीपी वा अन्य सुरक्षा कोड अरूलाई सेयर गर्छ भने जति नै बलियो पासवर्ड भएपनि अकाउन्ट सुरक्षित रहँदैन,’ उहाँले चेतावनी दिनु भएको छ।

 

साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल ह्याकसँगै विद्युतीय माध्यममार्फत हुने ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । यस्ता ठगीहरू विभिन्न स्वरूपमा देखिएका छन लगानी गरेर दोब्बर फाइदा हुने भन्दै प्रलोभन दिने ‘इन्भेस्टमेन्ट स्क्याम’, विदेशबाट उपहार आएको भन्दै शुल्क माग्ने, मृत व्यक्तिको सम्पत्ति दिने बहाना गर्ने, प्रेम सम्बन्धको नाटक गरेर पैसा ठग्ने ‘रोमान्स स्क्याम’, अनलाइन सेवा उपलब्ध गराउने भन्दै रकम असुल्ने, तथा अनलाइन किनमेलमा ठगी गर्ने जस्ता घटनाहरू सामान्य बन्दै गएका छन् ।

 

त्यस्तै, ह्याक भएको सामाजिक सञ्जालमार्फत आफन्त वा चिनेजानेका व्यक्तिहरूसँग पैसा माग्ने प्रवृत्ति पनि बढेको छ, जसले गर्दा एक व्यक्तिको लापरबाहीले अरू धेरैलाई समेत असर पर्ने गरेको छ ।

 

तथ्यांकले पनि साइबर अपराधको बढ्दो प्रवृत्ति स्पष्ट देखाउँछ । आर्थिक वर्ष २०७९÷८० मा साइबर ब्यूरोमा १८१५ वटा निवेदन परेको थियो भने २०८०÷८१ मा यो संख्या बढेर ४१३३ पुगेको छ । त्यस्तै २०८१÷८२ मा ७७२८ निवेदन दर्ता भएको छ । चालु आर्थिक वर्षमा मात्र करिब ४६०० निवेदन परिसकेको छ, जसले समस्या झन् गम्भीर बन्दै गएको संकेत गरेको छ ।

 

यद्यपि, सबै केस समाधान गर्न भने चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । सीमापारबाट सञ्चालन हुने आपराधिक नेटवर्क, नक्कली वा अरूको नाममा खोलिएका बैंक खाता (मनी म्युल), प्राविधिक जटिलता तथा सीमित स्रोतसाधनका कारण मुख्य अभियुक्तसम्म पुग्न कठिन हुने अवस्थाहरू रहेको अवस्थीले बताउनु भयो । धेरैजसो केसमा प्रयोग भएका खाता निर्दोष व्यक्तिका नाममा खोलिएका हुन्छन्, जसले अनुसन्धानलाई जटिल बनाउँछ, उहाँले भन्नु भयो ।

 

उहाँका अनुसार पीडितले समयमै सम्बन्धित प्लेटफर्म (जस्तै फेसबुक, टिकटक, ह्वाट्सएप) मा रिपोर्ट गरेमा अकाउन्ट छिटो रिकभर हुने सम्भावना बढी हुन्छ । साथै, साइबर ब्यूरोमा उजुरी दिएर पनि आवश्यक सहयोग लिन सकिन्छ । ‘ह्याक भएको व्यक्तिले आफैंले रिपोर्ट गर्दा प्लेटफर्मले चाँडो प्रतिक्रिया दिन्छ, किनभने उनीहरूले डिभाइस, लोकेसनलगायतका विवरण चिन्न सक्छन्,’ उहाँले बताउनु भयो ।

 

साइबर अपराध न्यूनीकरणका लागि सरकारले नीतिगत सुधार, जनचेतनामूलक कार्यक्रम र प्रविधिमा लगानी बढाउनुपर्ने अवस्थीको सुझाव छ । साथै, बैंक तथा अन्य सेवा प्रदायक संस्थाहरूले सेवा सुरु गर्दा नै ग्राहकलाई सम्भावित जोखिमबारे जानकारी गराउनुपर्ने उहाँले बताउनु भयो ।

 

उहाँले नागरिकलाई सतर्क रहन आग्रह गर्दै भन्नु भयो, साइबर सुरक्षा अब व्यक्तिगत जिम्मेवारी पनि हो । नचिनेको व्यक्तिसँग सम्पर्क नगर्ने, शंकास्पद लिंक नखोल्ने, आफ्नो पासपोर्ट कसैलाई नदिने, र सुरक्षाका सबै उपाय अपनाउने हो भने धेरैजसो साइबर अपराधबाट बच्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।